अन्तिम तीनमा पनि परेनन् रोनाल्डो र मेस्सी !
विश्व फुटबलमा व्यक्तिगत तहको ठूलो अवार्ड मध्ये एक बालोन डी’ओरमा यो वर्ष रोनाल्डो–मेस्सी दबदबा तोडिने आँकलन बलियो हुँदै गएको छ ।
पछिल्लो एक दशकदेखि क्रिष्टियानो रोनाल्डो र लियानल मेस्सीले अवार्ड जित्दै आएका थिए । तर यो वर्ष विश्व फुटबलको प्रशासकीय निकाय फिफाले प्रदान गरेको वर्ष खेलाडीको अवार्ड लुका मोड्रिकले जिते ।
रोनाल्डो अन्तिम तीनमा त परे तर अवार्ड जित्न सकेनन् । अब अर्को अवार्डको पालो छ, बालोन डी’ओर, त्यसमा रोनाल्डो, मेस्सीसहितका खेलाडी मनोनयनमा परेका छन् ।
तर इटाली तथा फ्रान्समा विभिन्न पत्रपत्रिकामा छापिएका खबरमा दाबी गरिएको छ कि रोनाल्डो र मेस्सी दुवै अन्तिम तीनमा परेका छैनन् ।
फ्रेन्च फुटबल म्यागजिनले प्रदान गर्दै आएको यो अवार्ड डिसेम्बर ३ मा घोषणा हुनेछ । दाबी गरिए अनुसार राफाय भाराने, लुका मोड्रिक र केलियन एमबाप्पे अन्तिम तीनमा परेका छन् ।