६ महिनापछि सर्वोच्चले पायो प्रधानन्यायाधीश

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सर्वोच्च अदालतमा पद सम्हालेका छन्। सोमबार बेलुका साढे ६ बजे सर्वोच्च अदालत पुगेर उनको पदबहाली भएको हो। मिश्रलाई न्यायाधीश दीपकराज जोशीले सर्वोच्च अदालतमा स्वागत गरेका थिए। सोमबार नै सुनुवाई समितिबाट अनुमोदन भएका मिश्रले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। उमेर विवादको कारण देखाउँदै तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीलाई न्यायपरिषद्का सचिवले अवकाशको पत्र थमाएपछि २०७४ चैत १ देखि सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशको भरमा चल्दै आएको थियो ।

फागुन ३० गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई शपथ ग्रहण गराएको भोलिपल्ट पराजुलीले राजीनामा गरेका थिए । संसदीय सुनुवाई समितिको गठन हुन नसक्दा संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीश सिफारिश गर्न सकेको थिएन । त्यसपछि झण्डै ५ महिना दीपकराज जोशी सर्वोच्चको कामु प्रधानन्यायाधीश भएका थिए । असार २३ गते संवैधानिक परिषद्को बैठकले जोशीलाई सर्वोच्चको प्रधानन्यायाधीशमा सिफारिश गरेपनि संसदीय सुनुवाइ समितिले साउन १८ मा जोशीको नाम अस्वीकृत गरेपछि साउन १९ देखि मिश्रले कामु प्रधानन्यायाधीशको रूपमा काम गर्दै आएका थिए ।

जोशीको नाम अस्वीकृत भएपछि भदौ ७ गते बसेको संवैधानिक परिषद्को बैठकले मिश्रलाई प्रधानन्यायाधीश बनाउन प्रस्ताव गरेको थियो । सुनुवाइ समितिले आज बिहान मात्र मिश्रको सुनुवाइ गर्दै सर्वसम्मतिले नाम अनुमोदन गरेको हो । सुनुवाइका क्रममा मिश्रले कार्यकाल छोटो भएपनि सर्वोच्च अदालतमा सुधारको प्रयास गर्ने बताएका थिए । लामो समयदेखि न्याय क्षेत्रमा कार्यरत मिश्र २०७१ सालमा सर्वोच्च अदालतको स्थायी न्यायाधीश नियुक्त भएका थिए ।