निस्किए ‘प्रचण्ड’ भारत भ्रमणमा , अाखिर के के छन एजेण्डा ?

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने भ्रमणका लागि आज अपराह्न नयाँ दिल्ली प्रस्थान गरेका छन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएका सहमति र समझदारीको सुदृढ कार्यान्वयनको वातावरण निर्माण गर्नु आफ्नो भ्रमणको मुख्य उद्देश्य भएको बताए ।

पूर्वप्रधानमन्त्री दाहालले भने, “भ्रमणको कुनै राजनीतिक एजेण्डा छैन, विकासको एजेण्डा तथा नेपाल र भारतबीच द्विपक्षीय सहमति, समझदारी र विगतमा भारत सरकारले गरेका थुप्रै प्रतिबद्धताको स्मरण गराउने छु ।”

भारतले भूकम्पपछि प्रतिबद्धता जनाएको सहयोग, हुलाकी राजमार्गसहित दुई प्रधानमन्त्रीबिच भएका सम्झौताको कार्यान्वनयलाई सकारात्मक वातावरण बनाउनका लागि भारत भ्रमणमा जान लागेको उनले बताए। उनले नेपालको समृद्धिको नारालाई पूरा गर्नका लागि भारत सरकार र भारतीय बुद्धिजीवीसँग छलफल गर्ने समेत बताए।

अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित संस्थापन पक्षका नेताहरू, साथै विभिन्न राजनीतिज्ञ तथा भारतीय बुद्धिजीवीहरूसँग भेटवार्ता गर्ने छन्। प्रचण्डले भारतीय विदेश मन्त्री सुस्मा स्वराजसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ।

नेपालको सत्तारुढ पार्टीको शक्तिशाली अध्यक्षका रूपमा हुन लागेको प्रचण्डको भारत भ्रमण नेपाल र भारत दुबै अर्थपूर्ण लिइएको छ। प्रचण्ड २३ गते नेपाल फर्किने छन्। यसैबिच प्रचण्ड असोज पहिलो साता उत्तरी छिमेकी चीनको समेत भ्रमण गर्दै छन्।

प्रचण्डकाे सिंहदरबारबाट बहिर्गमन

२०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा बहुमत लिएको नेकपा माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भए। हालसम्म नेपालमा प्रधानमन्त्री बनेसँगै भारत जाने परम्परा जस्तै रहेको छ। त्यसलाई तोड्ने प्रयास प्रचण्डले गर्न खोजे। २०६३ सालमा १० वर्ष जनयुद्धको नेतृत्व गरेर २०६५ असार ३१ मा प्रधानमन्त्रीको रूपमा सिंहदरबार छिरेका उनी पहिलो विदेश भ्रमणको रूपमा उत्तरी छिमेकी तथा कम्युनिस्ट देश चीनको भ्रमण गरे।

उनको चीन भ्रमणलाई लिएर भारत सशंकित बन्यो। त्यसपछि उनले चीन भ्रमणलाई राजनीतिक भ्रमण नभनी पहिलो राजनीतिक भ्रमण भारतबाटै हुने प्रतिक्रिया दिएर भारत गए। तर पनि भारत माओवादी सरकार र प्रचण्डप्रति विश्वस्त हुन सकेन।

माओवादीको सरकारलाई भारतले असहयोग गर्न थाल्यो। यही असहजताकाबीच प्रचण्ड सरकारले तत्कालीन प्रधान सेनापति रुक्मागत कटुवाललाई बर्खास्त गर्ने निर्णय गर्‍यो। त्यस्तै पशुपतिमा भारतीय भट्ट हटाउने निर्णय पनि प्रचण्ड सरकारका लागि असफल निर्णय बन्यो। सरकारका यी निर्णय विरुद्ध भारतले ठाडो हस्तक्षेप गर्‍यो। ९ महिनामा नै सिंहदबारबाट बाहिरिनु पर्‍यो। २०७६ साल वैशाखमा प्रधानमन्त्रीबाट राजीनामा दिँदै गर्दा भारत प्रति लक्षित गर्दै प्रचण्डले विदेशी प्रभु सामु कुर्सीका लागि नझुक्ने बताएर बाहिरिएका थिए।

प्रचण्ड पछि बनेको माधव नेपाल नेतृत्वको सरकारलाई ‘प्रभुको इसारामा बनेको सरकार’ को संज्ञा दिँदै माओवादी अन्दोलन गर्‍यो। उसले भारत विरुद्ध आन्दोलन नै घोषणा गर्‍यो। सरकार विरुद्ध देशभरबाट राजधानीमा कार्यकर्ता उतारेको माओवादीले आन्दोलनबिचमा नै रोक्यो। त्यति बेला वार्ता मालिकसँग गर्ने भन्दै भारत तर्फ प्रचण्डले लक्षित गरेका थिए।

प्रचण्ड पछि प्रधानमन्त्री बनेका नेपाल पनि धेरै समय टिक्न सकेनन्। उनले राजीनामा दिएर बाहिरिए। त्यसबिच संसदमा उनी पनि प्रधानमन्त्रीको उम्मेदवार बने तर उनलाई यस पटक प्रधानमन्त्री बन्नबाट भारतले नै रोकेको विश्लेषण माओवादी भित्र हुँदै आएको छ।

प्रचण्डले तत्कालीन एमालेका महासचिव झलनाथ खनाललाई प्रधानमन्त्री बनाए। माओवादीको सहयोगमा प्रधानमन्त्री बनेका खनाल पनि धेरै दिन टिक्न सकेनन्। तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराई भारतकै सहयोगमा प्रधानमन्त्री बनेको उनले बेलाबेला बताउँदै आएका छन्।

भारतसंगकाे सम्बन्ध कहिले काख कहिले पाखा

अध्यक्ष प्रचण्डको भारतीय पक्षसँग लामो समयदेखि सम्बन्ध छ। उतारचढावको सम्बन्ध सम्बन्ध। तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेका जनयुद्धदेखि नै प्रचण्ड र भारतीय संस्थापन पक्षबिचको सम्बन्ध रहेको बताइन्छ। भारतले नेपालका माओवादीप्रति दोहोरो नीति लिएको थियो। एकातिर माओवादीलाई सहयोग गरिरहेको भारतले अर्कोतिर आतंककारीको संज्ञा दिँदै सरकारलाई माओवादी विरुद्ध लड्न सहयोग पुराएको थियो।

२०५२ सालपछि उतार चढावको सम्बन्ध कहिले तितो कहिले मिठो हुँदै आएको छ। १० वर्ष जनयुद्ध सञ्चालन गरेका प्रचण्डलाई राजनीतिको मूलधारमा ल्याउन भारतले पनि भूमिका खेलेको थियो। तत्कालीन समयमा सात पार्टी र माओवादीलाई दिल्लीमा १२ बुँदे सम्झौता गराएर भारतले राजाविरुद्ध दुई फरक शक्तिलाई राजनीतिकको एउटै मञ्चमा ल्याएको थियो।  त्यस यता भारतले प्रचण्डलाई कहिले काखा कहिले पाखा राख्दै आएको छ। अर्कातिर प्रचण्डले भारतलाई समेत राजनीतिक सत्ता प्राप्तिका लागि प्रयोग गर्दै आएका छन्।