आजदेखि बिमस्टेककाे चौथो सम्मेलन सुरू..
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को चौथो सम्मेलन बिहीबार सुरु हुँदै छ । बिमस्टेकका अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न पौने ४ बजे सम्मेलन उद्घाटन गर्नेछन् । बुधबार सम्पन्न बिमस्टेकका परराष्ट्रमन्त्रीहरूको बैठकले सम्मेलनमा प्रस्तुत हुने एजेन्डा, हस्ताक्षर हुने समझदारीपत्र र जारी हुने काठमाडौं बडापत्रलाई अन्तिम रूप दिएको छ ।
सम्मेलनमा सहभागी हुन सदस्य–मुलुक श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक बुधबार आइपुगेका छन् । म्यानमारका राष्ट्रपति यु विन मिन्ट मंगलबारै आएका छन् । बिहीबार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्यान्डका राष्ट्रपति जनरल प्रयुत चान ओ आउँदै छन् ।
यस्तो छ सम्मेलनको कार्यतालिका
परराष्ट्र मन्त्रालयको कार्यक्रम–तालिकाअनुसार प्रधानमन्त्री ओलीले उद्घाटनसँगै २२ मिनेट मन्तव्य दिनेछन् । त्यसपछि वर्णानुक्रमअनुसार बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति यु विन मिन्ट, श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना र थाइल्यान्डका राष्ट्रपति जनरल प्रयुत चान ओ चा १५–१५ मिनेट सम्बोधन गर्नेछन् ।
बिहीबार पौने ६ बजे पहिलो औपचारिक कार्यक्रम सम्पन्न हुनेछ । बिहीबार साँझ ७ः२५ देखि ९ः२० सम्म प्रधानमन्त्री ओलीले आयोजना गर्ने रात्रिभोजमा सदस्य–मुलुकका कार्यकारी प्रमुख सहभागी हुनेछन् । शुक्रबार बिहान प्रधानमन्त्री ओलीले सहभागी सरकारप्रमुख एवं राष्ट्रप्रमुखको सम्मानमा होटेल सोल्टीको पुलसाइडमा रिट्रिट दिनेछन् ।
शुक्रबार ११ बजे बिमस्टेकको दोस्रो सत्र सुरु हुनेछ । प्रधानमन्त्री ओलीले हस्ताक्षर गर्नुपर्ने समझदारीपत्रबारे जानकारी दिनेछन् । सम्मेलनको अन्तिम दिन बिमस्टेक स्वतन्त्र व्यापार सम्झौताअन्तर्गत ग्रिड कनेक्टिभिटीसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ । यसैगरी ट्रान्सपोर्ट कनेक्टिभिटीको गुरुयोजना निर्माण तथा आतंकवाद र अन्य अन्तरदेशीय अपराध नियन्त्रणका विषयमा सम्मेलनमा छलफल हुनेछ । त्यसपछि बिमस्टेक घोषणापत्र जारी हुनेछ ।
पाँचौँ सम्मेलन श्रीलंकामा
बिमस्टेकको पहिलो शिखर सम्मेलन ३१ जुलाई २००४ मा थाइल्यान्डमा, दोस्रो १३ नोभेम्बर २००८ मा भारतमा र तेस्रो ४ मार्च २०१४ मा म्यानमारमा सम्पन्न भएको थियो । चौथो सम्मेलनले पाँचौँ सम्मेलन गर्ने श्रीलंकाको चाहनालाई अनुमोदन गर्ने कार्यक्रम छ । शुक्रबार बिमस्टेकको घोषणापत्र जारी भएपछि पाँचौँ सम्मेलन आयोजना गर्ने श्रीलंकाको प्रस्तावबारे राष्ट्रपति सिरिसेनाले मन्तव्य राख्ने र पारित गर्ने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री ओलीले समापन मन्तव्य दिनेछन् भने फोटोसेसनसहित १२ः३० बजे सम्मेलन सम्पन्न हुनेछ ।