पाकिस्तानको चुनावः २२ वर्षको संघर्षपछि ‘नयाँशक्ति’को उदय
क्रिकेटको ब्याट चुनावचिन्ह लिएर निर्वाचनको मैदानमा होमिएका पूर्वक्रिकेटर इमरान खानले २२ वर्ष लामो राजनीतिक संघर्षपछि ‘छक्का’ मार्न सफल भएका छन् । खानले नेतृत्व गरेको पीटीआईले एकलौटी बहुमत पाउने निश्चित नभए पनि उनले दुईवटा पुराना पार्टीलाई गम्भीर धक्का दिएका छन् ।
पाकिस्तानको राजनीति सैन्यतन्त्र र लोकतन्त्रवीच चाकाचुली खेल्दै यहाँसम्म आइपुगेको छ । यही अस्थिरताले गर्दा पाकिस्तानमा बहुमत पाउने पार्टीले पूरै कार्यकाल सत्ता चलाउनु दुर्लभ संयोग मानिँदै आएको छ । देशको अस्थिरता र बेथितिलाई चिर्न सन् १९९६ मा पूर्वक्रिकेटर इमरान खानले नयाँ पार्टी गठन गरेका थिए । सन् २०१३ मा ३५ सीट जितेर संसदमा तेस्रो बनेको इमरानको पार्टी केन्द्रीय सत्ताको नजिक पुग्ने नयाँ पार्टी बन्न पुगेको छ ।
राजनीतिमा धैर्यता चाहिन्छ भन्ने उदाहरण बनेका छन्- इमरान खान । उनले यही उदाहरणका लागि २२ वर्ष निरन्तर राजनीति गरे । र, अहिले पाकिस्तानी जनताको विश्वास जित्न सफल भए । इमरानले खोलेको शक्तिले अन्ततः २२ वर्षको अथक प्रयासपछि जिन्ना र भुट्टो परिवारको विरासत बोकेका पुराना पार्टीहरुलाई पछाडि पारिदिएको छ ।
पाकिस्तानको निर्वाचनले के देखाइदिएको छ भने जनताको पक्षमा राम्रो काम गर्न सकेनन् भने पुराना पार्टीहरुको भविश्य खराब हुन सक्छ । जस्तो कि नेपालमा पनि नेकपा वा कांग्रेसजस्ता पुराना र स्थापित पार्टीहरुले जनतालाई सही विकल्प दिन सकेनन् भने तेस्रो विकल्पको खोजी हुन सक्छ । उदाहरणका लागि विवेकशील साझा र नयाँशक्ति पार्टी आदिले इमरान खानको नक्कल गर्न खोजिरहेका छन् ।
न वामपन्थी, न उदारवादी !
भुट्टोको विरासत बोकेर पटक-पटक सत्तामा पुगेको पाकिस्तान पिपुल्स पार्टी पिपिपीले आफूलाई वाम समाजवादी बताउँदै आएको थियो । यही कारण बेनजिरले विगतमा उत्तर कोरियासँग पनि निकटता बढाएकी थिइन् । उनी समाजवादी र धर्म निरपेक्षतावादी थिइन् । अर्कोतर्फ पाकिस्तानका पिता जिन्नाकै पालाको मुस्लिम लिगको उत्तराधिकारी दाबी गर्ने पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल एन) ले आफूलाई कहिले मुस्लिम पहिचानको धरातलमा त कहिले आधुनिकीकरण एवं उदार लोकतन्त्रको लाइनमा उभ्याउँदै आयो । धार्मिक कट्टरता र आधुनिकताको दोसाँधमा धर्मराइरहेको पाकिस्तानी समाजमा नवाज सरिफको पार्टी पीएमएल (एन) को नीति पनि त्यस्तै धर्मर-धर्मर रहँदै आयो ।
पीएमएलको नीति सामाजिक र सांस्कृतिकरुपमा मात्रै होइन, राजनीतिक रुपमा पनि कहिले लोकतान्त्रिक जस्तो त कहिले सेनाप्रति झुकाव राखेजस्तो ढुलमुले रहँदै आयो । भलै पछिल्लो समय पानामा पेपर प्रकरण र सर्वोच्च अदालतको फैसलापछि नवाज सरिफ सेनाको कडा आलोचक भएर निस्केका छन् । यद्यपि जेल गइसक्दा पनि चुनावी सरकारका प्रधानमन्त्री एवं नवाजको पार्टीका नेता साहिद अब्बासी सेनाबाट रुचाइएका नेताका रुपमा चिनिँदै आएका छन् ।
इमरान खानले पीपीपीका नेता जुल्फीकरले जस्तो वाम समाजवादको नारा दिएनन् । न त उनले जनताप्रति जवाफदेही नहुने उदार पुँजीवादको नै वकालत गरे । उनले बरु समाजवादी अर्थतन्त्रका सारतत्वलाई आफ्नै परिवेशमा व्याख्या गर्ने प्रयास गरेको देखिन्छ ।
पाकिस्तानको राजनीतिमा भ्रष्टाचारको मुद्दा निकै अहम रहँदै आएको छ । बेनजिरको पार्टी होस् या नवाजको, दुबै पार्टीलाई भ्रष्टाचारकै आरोपले कमजोर बनाएको छ । र, यसैलाई ‘क्यास’ गर्दै इमरान खानले भ्रष्टाचारको विरोधलाई मूलनारा बनाएर राजनीतिमा आफूलाई स्थापित गरे ।
भ्रष्टाचारको मुद्दाका साथै इमरानको पार्टीले स्वास्थ्य, शिक्षा र सामाजिक न्याय स्थापना गर्ने नारा अघि सार्यो । उसले पाकिस्तानमा लोककल्याणकारी राज्य स्थापित गर्ने र राज्यलाई जनताप्रति उत्तरदायी बनाउने नारा अगाडि सारेको छ । अब सत्तामा पुगेपछि कसरी काम गर्छ, त्यो हेर्न बाँकी छ । पाकिस्तानको राजनीतिमा सेना र केही स-साना धार्मिक समूहलाई बिर्सने हो भने तीनवटा प्रमुख राजनीतिक दल नै लोकतन्त्रका मुख्य खेलाडी हुन् ।