चुरे दोहनको परिणाम : सामान्य बाढी पनि थेग्दैनन् बाँधले
पोर्ताहा (सप्तरी)। पछिल्लो साता बाढीले सप्तरीस्थित खड्ग खोलामा बन्दै गरेको बाँध बगायो। करिब अढाई किलोमिटर बाँधमध्ये ५० मिटर बाँध बाढीले बगाएको छ। यो बाँध अर्थिक वर्ष ०७२/०७३ देखि ठेक्का प्रणालीमार्फत तीन करोड रुपैयाँ लागतमा निर्माण भइरहेको छ । बाढीको धक्का थेग्न नसकेर बाँध भत्केको जल उत्पन्न नियन्त्रण डिभिजन कार्यालय लहानका प्रमुख महेशकुमार साहले बताए। बाँध भत्किँदा गत वर्ष गोविन्दपुर–४ आसपासका गाउँबस्ती डुबानमा परेको थियो।
पोर्ताहास्थित महुली खोलाको बाँध पनि प्रत्येक वर्ष निर्माण हुने र भत्किने क्रम चल्दै आएको छ। यस वर्ष पनि पहिलो वर्षामै यो बाँध ठाउँठाउँमा कटान भएको छ। गत वर्ष यो बाँध भत्किएर बाढी पस्दा करिब आधा दर्जन बस्ती डुबानमा परेको थियो। महुली, खड्ग र खाँडो खोलाका बाँध प्रत्येक वर्ष बन्ने र भत्किने गरेका छन्। गत वर्ष यी खोलालगायत विभिन्न ठाउँमा बाँध निर्माणका लागि करिब ३० करोड रुपैयाँ खर्च भएको थियो। यस वर्ष पनि बाँध निर्माण, मर्मत, स्पर निर्माण जारी छ।
बाढीबाट हुने विनाश रोक्न नदीमा होइन, मूल (चुरे) मै उपचार खोज्नुपर्छ। चुरेमा बसोबास, रुखबिरुवा फँडानी, उत्खननलगायतका काम नरोकेसम्म तल (नदीमा) जति बाँध बाँधे पनि टिकाउ हुँदैन। चुरेलाई हरियाली नबनाएसम्म नदीमा बाँध बाँधेर मात्र हुँदैन। याे खबर अाजकाे नागरिकले छापेकाे छ ।