जुम्ला पुगेका डा. गोविन्द केसी पक्राउ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बस्न जुम्ला पुगेका डा.गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय अगाडिबाट डाक्टर केसीलाई अनसन नबस्दै प्रहरीले पक्राउ गरेको हो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको शिक्षण अस्पताल अवलोकनका लागि जादै गर्दा टुडिखेलको माथिल्लो गेट नजिकै डाक्टर केसीलाई प्रहरीले बाटोमै रोकेको थियो । प्रहरीले रोकेपछि उनी जिल्ला प्रशासन कार्यालयतर्फ गएका थिए ।

प्रशासन कार्यालय अगाडि डाक्टर केसीका समर्थकहरुले निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले लाठी चार्ज गरेको थियो भने उनलाई पक्राउ गरेको छ । प्रहरीको लाठीबाट देवेन्द्र शाही र राजबहादुर महत घाइते भएका छन् ।

शनिबारदेखि अनसन बस्नका लागि जुम्ला पुगेका केसीको अनसलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय जुम्लाले निषेधित क्षेत्र घोषणा गरेको थियो । चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर प्रतिस्थापन विधेयक ल्याउन खोजिएको भन्दै डाक्टर केसी अनसन बस्नका लागि यहाँ आएका हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको वर्षौँपछि पनि एमबीबीएस विद्यार्थी भर्ना सुरु हुन नसकेको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढी गेटा मेडिकल कलेजको प्रगति सुस्त भएको पनि अनसनको विषय छ । कर्णालीमा एमबीबीएस पढाइको विषय उठाएकाले जुम्ली जनताले उनलाई सहयोग गरेको नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए ।