प्रहरी संगठन तङ्ग्राउदै आईजीपि खनाल

बिगत लामो समयदेखि सांगठनिक कुशासन अनि ध्रुबिकरण, राजनैतिक हस्तक्षेप, निजि स्वार्थ हाबि हुँदा भेन्टिलेटरमा राखेको बिरामीकोझैं हविगत भएको नेपाल प्रहरीले नया प्रमुखमा सर्वेन्द्र खनाल नियुक्त भएपश्चात आशाका केहि किरणसहित सन्तोषको स्वास फेरेको थियो जसलाई खनालले आफ्नो तिन महिने कार्यकालको खटाई एवं गराईले प्रमाणित गरिदिसकेका छन्। बिभिन्न स्वार्थहरु हावि हुँदा नियमित रुपमा हुनु पर्ने सरुवा लामो समय रोकिएकाले एक किसिमको नैराश्यताको अवस्थालाई अन्त्य गर्दै निश्चित समयको अन्तरालमा सबै दर्जाको सरुवा गर्न खनाल सफल भए ।

यसक्रममा काबिलका साथै अवसरबाट बञ्चित नयाँ अनुहारले समेत ईलाका/जिल्ला ईन्चार्जको जिम्मेवारी पाए। प्रहरी जवान देखि प्रहरी नायब महानिरिक्षकसम्मको सरुवा निश्चित मापदण्ड बनाई गरिनाले एकाध बाहेकका सरुवामा आईजीपी खनालले जस पाउन सफल भए । ५ देखी २० बर्ष सम्म प्रहरी मुख्यालय र आकर्षक कार्यालयहरुमा कार्यरत रहि पहुँचको आधारमा सुबिधा भोग गरिराखेका सई/असई, प्र.ज.,प्र.ह.हरुको न्यायोचित सरुवा गरी एक प्रकारको सिण्डिकेट तोड्न सफल आईजीपी खनालले चौतर्फि वाहवाही कमाईराखेका छन् ।
त्यस्तै बिगतमा रिक्त स्थान हुँदा हुँदै पनि राम्रा प्रहरी अधिकृत पदावधिका कारण अनिवार्य अवकास पाउन बाध्य भईरहेका थिए, कतिले त समयमा बढुवा नभएको नैराश्यता राजिनामा मार्फत प्रस्तुत गरे ।

यसले व्यक्तिगत र व्यावसायिक नकारात्मकता उत्पन्न भईरहेको थियो । आईजीपी खनालले त्यसप्रकारको उकुसमुकुस वातावरणको अन्त्य प्रहरी जवान देखि प्रहरी नायब महानिरिक्षकसम्मको बढुवा निश्चित क्राईटेरिया बनाई बैज्ञानिक तवरले सकभर बिबाद रहित ढङ्गले गरे । त्यतिमात्र नभई २० बर्ष भन्दा बढि समय एकै पदमा बस्न बाध्य प्राबिधिक(कम्प्युटर, संचार, स्वास्थय) सई, प्राबिधिक प्रहरी जवान देखि प्राबिधिक प्रहरी नायब महानिरिक्षकसम्मको बिबादरहित बढुवा गरी आईजीपी खनालले आफ्नो कार्यक्षमता प्रस्तुत गरिसकेका छन् । यसले प्रहरी कर्मचारीहरुमा एक प्रकारको पोजिटिभ उर्जा थपिएको छ ।

जनशक्ति अभावले प्रहरी कार्य र अपराध अनुसन्धानमा ह्रास आईरहेको बिधमान अवस्थामा आईजीपी खनालकै अथक प्रयास एवं अहोरात्र खटाईको फलस्वरुप पहिलो चरणमा नेपाल प्रहरीमा ३१०१ दरबन्दी थप भएको छ जुन आफैमा एक उदाहरणीय कार्य पनि हो । हरेक क्षेत्रमा व्याप्त सिण्डिकेटको अन्त्य, गुण्डागर्दीको सफाया, आम जनमानसमा शान्ति सुरक्षाको अनुभूति हुने कार्य लगायत गृह मन्त्रालयले अवलम्बन गरेका नीति निर्देशनहरुको अक्षरस पालना गरी नतिजामुलक उत्कृष्ट कार्य सम्पादन गरीरहेका आईजीपी खनाल आफ्नो कर्तव्य पालनामा किन्चित बिचल्लित भएका छैनन्।

नेपाल प्रहरीको रासनमा हुने बिभेद र भ्रष्टाचार, ठेकापट्टामा हुने अनियमितता, भौतिक पूर्वाधारहरुको द्रुत निर्माणमा ढिलाई, आन्तरिक कुशासन, यू.एन.मिसनमा सहभागिता लगायत प्रहरी कर्मचारीहरुको बृत्तिबिकासका बाधकहरुको समेत सुक्ष्म अध्ययन गरीसकेका आईजीपी खनालले निकट भविष्यमा पहिचान भैसकेका यसका कुतत्वहरुबारे कठोर कदम चाल्ने प्रक्रियामा रहेका छन् ।यसैगरी संघीय प्रहरी ऐन लागु भएपश्चात नेपाल प्रहरी थप अधिकार सम्पन्न र ब्यवस्थित बन्नेमा समेत आईजीपि खनाल नेपाल प्रहरीमा ब्याप्त ध्रुबिकरण,व्यावसायिक नैरास्यता, अपर्याप्त सु–अवसर, राजनैतिक हस्तक्षेप लगायत सुशासन र संगठन बिकास पथका दर्जनौं चुनौतिहरु एक-एक गरी पन्छाउदै सफल एवं उदाहरणीय नेपाल प्रहरी संगठन बनाउन कटिबद्ध छन् जसको ज्वलन्त उदाहरण उहाँको तिन महिनाको कार्यकालले सप्रमाण प्रमाणित गरिसकेको छ ।