नारायणगढ-मुग्लिन सडक फेरि पहिरोले अवरुद्ध, यात्रुलाई सास्ती

मुग्लिन सडकखण्ड फेरि अबरुद्ध भएको छ। गएराती तीन ठाउँमा पहिरो खसेपछि सोमबार बिहान २ः३५ बजेदेखि सडक अवरुद्ध भएको हो। पटक–पटक पहिरो जाँदा नारायणगढ–मुग्लिन सडक अबरुद्ध हुँदै आएको छ। सडक अबरुद्ध हुँदा हजारौं यात्रुले सास्ती पाएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार गएराती सडकखण्डमा पर्ने चारकिलो, चोरखोला र कालीखोलामा पहिरो खसेको छ। चारकिलोमा अहिले पनि पहिरो खसिरहेको छ। चारकिलोको पहिरो ठूलो भएकाले पन्छाउन कठिन भएको प्रहरीले जनाएको छ। वर्षा भइरहेकाले पहिलो जाने क्रम नरोकिएको प्रहरीले जनाएको छ।

जतिसक्दो छिटो पहिरो पन्छाएर सडक सञ्चालन गर्ने तयारी भइरहेको नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ। सरकारले उच्च जोखिम सूचीमा राखेका पाँच सडकमध्ये नारायणगढ–मुग्लिन सडक पनि एउटा हो। सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्ड कालोपत्रे भए पनि समय समयमा खस्ने पहिरोका कारण सडक जोखिम पूर्ण बन्दै गएको छ।

असार ४ गते राती पहिरोसँगै खसेको ढुंगाले लाग्दा एकजना ट्रक चालकको ज्यान गएको थियो। ढुंगा खसेर ग १ ख ८२२८ नम्बरको ट्रकमा लाग्दा ट्रक चालक तनहुँ सुक्लागण्डकी नगरपालिका बस्ने ३६ वर्षीय कृष्ण ढुंगानाको ज्यान गएको हो। पटक–पटक पहिरो जाँदा यो सडकखण्ड भएर यात्रा गर्ने यात्रुले सास्ती पाउँदै आएका छन्।