वरिष्ठ न्युरोसर्जन डा.उपेन्द्र देवकोटाको निधन
वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको आज साँझ उपचारका क्रममा बाँसबारीस्थित नेशनल इन्स्टिच्यूट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्सेसमा निधन भएको छ । पित्त नलीको क्यान्सरबाट पीडित डा. देवकोटा बेलायतमा उपचार गरी केही समयअघि नेपाल फर्किएका थिए। केही समय काठमाडौंको बाँसबारीस्थित उनले नै स्थापना गरेको न्यूरो अस्पतालमा उपचार गराएर उनकै इच्छाबमोजिम उनलाई जन्मस्थान गोरखा लगिएको थियो।
गोरखाको पालुङ्टार नगरपालिका- ३, बोहरास्थित पण्डित गाउँमा सन् १९५४ मा जन्मिएका डा. उपेन्द्र देवकोटाले विद्यालयस्तरको पढाइ आफ्नै गाउँको अमरज्योति जनता मावि लुइँटेलबाट पूरा गरेका थिए। उनका बुबा होमनाथ देवकोटा कविराज थिए। बुबाले पुर्याएको सेवा देख्दै हुर्किएका देवकोटाले काठमाडौंको अमृत साइन्स क्याम्पसबाट आइएस्सी पास गरे भने भारतीय दूतावासको छात्रवृत्तिमा भारतको आसाम मेडिकल कलेजबाट एमबिबिएस गरे।
बेलायतको किङ्स मेडिकल कलेजबाट न्यूरो सर्जरीको विशेषज्ञता हासिल गरेका थिए देवकोटाले। चिकित्सा विज्ञानकै सबैभन्दा जटिल र गम्भीर विधाको रूपमा लिइने न्यूरो सर्जरीका डा. देवकोटाले आफ्नो ३४ वर्षे चिकित्सकीय जीवनमा १८ हजार जनाको शल्यक्रिया गरेका थिए भने १० लाख बढी बिरामीलाई जाँचेर मृत्युको मुखबाट बचाएका थिए। उनी नेपालमा मात्र नभएर एसियाकै उत्कृष्ट न्यूरो सर्जनको रूपमा परिचित थिए।
विद्यालय तहदेखि नै पढाइमा सधैँ अब्बल रहेका डा. देवकोटा बेलायतबाट न्यूरो सर्जरीमा विशेषज्ञता हासिल गरेर फर्किए। त्यसपछि उनकै नेतृत्वमा वीर अस्पतालमा सन् १९८९ मा नेपालमै पहिलो पटक सरकारी अस्पतालमा न्यूरो सर्जरी विभागको समेत स्थापना भएको थियो। नेपाल फर्किएपछि पहिलो पटक ब्रेन ट्युमरको लगातार २२ घण्टा लामो शल्यक्रियासमेत उनले वीर अस्पतालमै गरेका थिए। तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा सात महिना स्वास्थ्यमन्त्री हुँदा उनले स्वास्थ्य तथा चिकित्सा शिक्षा सेवामा धेरै राम्रा कामको सुरुवात गरेका थिए। उनले स्वास्थ्यमन्त्री हुँदा नेपालमै सरकारी तहबाट विशेषज्ञ चिकित्सकहरू उत्पादन गर्न अध्यादेशमार्फत् चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) बनाए।
यसपछि नेपालमै विशेषज्ञ डाक्टर उत्पादन सुरु हुने बाटो खोलिदिए। देशको दुर्गम भेगमा विशेषज्ञ चिकित्सक नपुगेको बेलामा त्यसै बेला दुई वर्ष दुर्गममा बसेपछि सरकारले पोष्टग्र्याजुएट (पिजी) निःशुल्क पढ्न सरकारी छात्रवृत्ति पाउने निर्णयले हाल सरकारी चिकित्सक गाउँ जान तँछाडमछाड गर्ने अवस्था आएको छ। वीर अस्पतालमा २५ वर्ष सेवा गरेका डा. देवकोटा त्यसयता आफैँले स्थापना गरेको बाँसबारीस्थित न्यूरो हस्पिटलमार्फत् बिरामीको सेवा गरिरहेका थिए।
गत मंसिरमा आफ्नै गृहजिल्ला गोरखा गएको बेला बिरामी परेका डा. देवकोटा गत मंसिरमा एक्कासि बिरामी भई उपचारार्थ बेलायत गएका थिए। छ महिना लामो बेलायतको उपचारपछि डा. देवकोटा गत बैशाख १५ गते स्वदेश फर्किएदेखि काठमाडौंको बाँसबारीस्थित आफैँले स्थापना गरेको न्यूरो अस्पतालमा भर्ना भएका थिए। नेपाल फर्किएदेखि न्यूरो अस्पतालमा उपचाररत डा. देवकोटाले गोरखास्थित पुर्ख्यौली घर पुग्ने इच्छा गरेपछि केही समयअघि उनलाई आफ्नो पुर्ख्यौली घर गोरखा लगिएको थियो। चिकित्सकीय जीवनमा मात्र नभएर खेलकुद र सामाजिक जीवनमा समेत सक्रिय थिए उनी।
भलिबलदेखि खेलकुद, वादविवाद, वक्तृत्वकलाका मंच र निबन्ध प्रतियोगितामा पनि उनको रुचि थियो। विद्यालय तहदेखि नै इमानदार र विद्रोही स्वभावका देवकोटाले अनुशासन भने कहिल्यै तोडेनन्। पढाइमा होस् वा अतिरिक्त क्रियाकलापमा, सधैँ अब्बल सावित भएका देवकोटाको अध्ययनशीलता विस्तृत थियो। पूर्वीय साहित्य र दर्शनका साथै राजनीति र कूटनीतिमा पनि उनको विशेष अध्ययन र रुचि थियो। आफ्नो अध्ययन र अनुभवका आधारमा बेजोड तर्क गर्ने सीप र कला भएका देवकोटाले सन् १९८६ मा डा. मधु दीक्षितसँग विवाह गरेका थिए। उनका तीन छोरी मेघा, वसुधा र मञ्जरी र एक श्रीमती मधु छन्।