घट्यो पेट्रोलियम पदार्थको मूल्य

लगातार चार पटक मूल्य बढाएको नेपाल आयल निगमले आइतबार रातिदेखि लागू हुने गरी पेट्रोल,डिजल र मट्टितेलको मूल्य घटाएको छ। निगमले पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य २ रुपैयाँ मूल्य घटाएको छ। अब पेट्रोल १ सय १० रुपैयाँ र डिजल ९३ रुपैयाँ लिटरमा उपभोक्ताले पाउनेछन्।

नयाँ मूल्य अनुसार निगमलार्इ पेट्रोलमा प्रति लिटर ६२ पैसा र डिजलमा लिटरमा २ रुपैयाँ ४३ पैसा घाटा छ। निगमलार्इ १५ दिनमा ७ करोड ८४ लाख रुपैयाँ घाटा हुनेछ। इण्डियन आयल कर्पोरेशन(आइओसी)ले जुन १५मा पठाएको मूल्य अनुसार निगमले पेट्रोल र डिजलको मूल्य घटाएको हो।

आइओसीले प्रत्येक १५ तारिखमा पेट्रोल,डिजल र मट्टितेलको मूल्य र १ तारिखमा सबै पेट्रोलियम पदार्थको मूल्य पठाउने गर्छ। पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा विद्यार्थी संगठनहरुले प्रदर्शन गर्दै आएका छन्।