विषादी न्यूनिकरण अभियानमा चन्द्रागिरीका किसान

काठमाडौँ चन्द्रागिरीका नगरपालिकाका किसान विषादी न्यूनिकरण अभियानमा जुटेका छन । दिनप्रतिदिन बिषदीयुक्त खाना खाएसंगै स्वास्थ्यमा जटिल समास्याहरु देखिन थालेपछि चन्द्रागिरि नगरपालिकाका किसानहरु बिषादीमुक्त तरकारी उत्पादनमा सक्रिय भएका हुन । रोग व्याधीको प्रकोपले उपभोक्तामा अर्गानिक उत्पादनको चासो बढेसंगै किसानमा पनि यसखाले जागरुकता देखिएको हो । चन्द्रागिरी नगरपालिका वडा नम्बर ७ मा संचालन भएको १६ हप्ते आईपीएम (एकीकृत शत्रु जीव व्यवस्थापन) तालिमका सहभागीले अर्गानिक उत्पादन आफ्नो प्रमुख लक्ष्य भएको बताए । चन्द्रागिरि नगरपालिकाको आर्थिक सहयोगमा महांकाल सफल कृषक समूहले १६ हप्ता महाँकाल आइपीएम कृषक पाठशाला संचालन गरेको थियो ।

प्रमुख अतिथि चन्द्रागिरि नगरपालिकाका उपप्रमुख लिशा नकर्मीले रासायनिक मल र विषादीलाई न्यूनिकरण गर्दै त्यसको बैकल्पिक बाटाहरु प्रयोग गर्दै जानुपर्ने आवश्यकता औंल्याउनुभयो । कार्यक्रममा उपप्रमुख नकर्मीले विषादीजन्य विरुवाहरु निम, बकाइनो, खिर्रा, असुरो, तितेपाती, वनमारा, सिस्नुलाई विषादी बनाई प्रयोग गरेर तरकारी उब्जनी गर्न सिकाइएको तालिमले वातावरण तथा मानव स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । प्राङगारिक तरिकाले उत्पादन गरिएको तरकारी स्वस्थकर हुनाले यसतर्फ कृषकलाई अझै आकर्षित गर्दै लैजानु पर्ने र साथसाथै कौशी खेतीको बारेमा पनि सोच्नु पर्ने बताउनुभयो ।

यसैगरी सहजकर्ता पार्वती चापागाईंले आइपीएल तरिकाबाट खेती गर्दा कृषकहरुले प्रयोग गर्दै आएका रासायनिक मलको प्रयोग कम हुँदै जाने बताउनुभयो । घामपानीबाट जोगाएर तयार गरेको गोठेमल प्रयोग गर्दा माटो पनि नबिग्रने र उत्पादन पनि राम्रो हुनुका साथै वातावरण प्रदुषणमा कमी आउने सहजकर्ता चापागाईंको भनाइ छ । उहाँले २ रोपनी जग्गामा आधा–आधा गरेर आइपिएम र कृषक तरिकाबाट ग्रिनक्रोनेट जातको बन्दा रोपिएकोमा आइपिएम तरिकाले लगाइएको उत्पादन उत्कृष्ट भएको उल्लेख गर्नुभयो ।

पाठशालामा सहभागी कृषकहरुले आपूmहरु व्यावसायिक खेतीमा लागेपनि भोग्नुपरेका समस्या निदान हुन नसकेको गुनासो गरे । आफुले गरेको उब्जनीको राम्रो प्रतिफल नपाउनु, बजारको राम्रो व्यवस्था नहुनु र विचौलीको फन्दाबाट किसान बाहिर निस्कन नसक्नु देशको नै दुर्भाग्य भएको उनीहरुको गुनासा थियो । तालिम लिएका किसानले आफुले लिएको सीप ज्ञान व्यवहारमा लागू गर्ने प्रतिवद्धता जनाए ।
प्रशिक्षक ज्योति पौडेलले नेपालमा २ लाख बढी किसान जमिनविहीन, ५ लाख भन्दा बढी किसानसँग केही नभएको हुँदा उनीहरुको हकअधिकारको बारेमा आवाज उठाउने समय आएको बताउनुभयो ।

कर्मचारीलाई पेन्सन, उपचारको लागि अस्पताल, रोजगार सबै भएपनि सबैलाई पाल्ने किसानका विषयमा सरकार मौन बस्नु विडम्बना रहेको उहाँको भनाई छ ।  अस्ट ज अभियानका केन्द्रीय सदस्य रविन्द्र रिजालले हाइब्रिट जातको वीउ लगाउन छोडी स्थानीय जातको वीउ लगाई खेती गर्न पनि किसानलाई आग्रह गर्नुभयो । सो अवसरमा तालिममा सहभागी ३० जनालाई प्रमाणपत्र वितरण गरिनुको साथै पहिलो, दोस्रो र तेस्रो हुनेलाई कृषि सामग्री वितरण गरिएको थियो ।