ओली सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक

केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले पद धारण गरेको ६० दिनभित्रमा सम्पत्ति विवरण सार्वजनिक गनुपर्ने कानुनअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यले आज सम्पत्ति सार्वजनिक गरेका हुन् ।

१८ मन्त्रीमध्ये महिलामन्त्री थममाया थापा सबैभन्दा गरीब र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ धनी देखिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको मन्त्रीहरूको सम्पत्ति विवरण अनुसार महासेठकी श्रीमती एवं सांसद जुली महतोको विभिन्न बैंक तथा वित्तीय संस्थामा धितोपत्र, ऋणपत्र र सेयर लगायत मात्रै ३९ करोड रुपैयाँ बराबरको छ ।

उनीसँग ५२ तोला सुन र डेढ किलो चाँदी छ भने ७२ लाख रुपैयाँ नगद रहेको सम्पत्ति विवरणमा उल्लेख छ । महासेठ र श्रीमतीको नाममा धनुषामा २ र ललितपुरमा एउटा घर छ । श्रीमती जुलीकुमारी महतो र उनका नाममा धनुषामा २ र ललितपुरमा एउटा घर रहेको पनि उल्लेख छ । त्यस्तै मन्त्री महासेठकी पत्नी महतोको नाममा धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा ८ विघा, सिन्धुली कमलामाइ नगरपालिकामा ५ कठ्ठा, ललितपुर महानगरपालिका २ नख्खुमा २ रोपनी १३ आना, धनुषाको जनकपुर उपमहानगरपालिकामा ९ कठ्ठा जग्गा रहेको छ । त्यस्तै मन्त्री महासेठको नाममा जनकपुर उपमहानगरपालिकामा १४ कठ्ठा र धनुषाधाम नगरपालिकामा १ विघा १० कठ्ठा जग्गा रहेको छ ।

यातायात मन्त्री महासेठको सम्पत्ति विवरणमा नविल, नेपाल इन्भेष्टमेन्ट, माछापुछ्रे, एनआईसी एशिया र एभरेष्ट बैंकमा खाता रहेको उल्लेख भए पनि त्यहाँ भएको रकम उल्लेख गरिएको छैन । त्यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थापाको नाममा भने म्याग्दीको बेनीमा आमाले दिएको एउटा घर रहेको छ । त्यस्तै गरगहनामा एक तोला सुन, तीनवटा बैंकमा गरी १५ हजार रुपैयाँ बचत रहेको छ । उनको माछापुछ्रे बैंकमा १ हजार, एभरेस्ट बैंकमा ४ हजार र कुमारी बैंकमा १० हजार रुपैयाँ बचत रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्रीको सम्पत्ति विवरण

पत्नी राधिका शाक्यको नाममा तीन तलाको घर भक्तपुर सूर्यविनायकमा रहेको उल्लेख गरिएको छ। त्यस्तै, शाक्यकै नाममा भक्तपुरमा आधा रोपनी र झापामा १० कठ्ठा जग्गा रहेको उल्लेख गरिएको छ। झण्डै १८ तोला सुन रहेको र आफ्नो खातामा ४२ लाख र श्रीमतीको खातामा १० लाख रकम रहेको छ। त्यस्तै, शाक्यको नाममा २५ लाख रुपैयाँ बराबरको शेयर रहेको पनि उल्लेख गरिएको छ।

कृषिमन्त्रीको घरै छैन

कृषि, भूमिव्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनालको भने घरै छैन । आफ्नो सम्पत्ति विवरणमा उनले कपिलवस्तुमा तीन ठाउँमा जग्गा भएको उल्लेख गरेका छन् । तर, बैंकमा १४ लाख ९६ हजार बैंक मौज्दात छ भने १० लाख ३६ हजार रुपैयाँ मूल्यको सेयर छ ।

पर्यटनमन्त्री अधिकारीसँग ६० तोला सुन

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी ओली सरकारका सुनमा धनी मन्त्री हुन् । सम्पत्ति विवरणमा उल्लेख गरेअनुसार उनीसँग ६० तोला सुन र ३० किलो चाँदी छ । पोखरा र काठमाडौंमा गरी तीन वटा घर छ भने पोखरामा दुई स्थानमा जग्गा पनि छ । उनीसँग बैंक खातामा साढे २४ लाख रुपैयाँ मौज्दात र २० लाख बराबरको कार छ ।

 

लालबाबुसँग साइकल, बादलसँग छिमेकीले दिएको कुकुर

मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण खुलाउने क्रममा साइकल र कुकुरलाई पनि समावेश गरेका छन् । संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितले सवारी साधनका नाममा आफूसँग एक थान पुरानो साइकल रहेको उल्लेख गरेका छन् । विराटनगर एक कठ्ठामा बनेको ५ कोठे घर र ललितपुर भैसेपाटीमा पत्नी विमलाको नाममा ४ आना जग्गा रहेको पनि उनले उल्लेख गरेका छन् । उनीसँग १० तोला सुन र १५ तोला चाँदी छ । उनी र श्रीमतिका नाममा बैंक तथा वित्तीय संस्थामा ५५ लाख रुपैयाँ मौज्दात छ ।

त्यस्तै, गृहमन्त्री रामबहादुर थापाले आफ्नो सम्पत्ति विवरणमा दुई वटा कुकुर पनि उल्लेख गरेका छन् । प्राप्त स्रोतमा छिमेकी लेखेका छन् । श्रीमती नैनकला थापाको नाममा चितवनमा घर र जग्गा, ६ तोला सुन र तीन लाख रुपैयाँ नगद भएको उल्लेख गरेका छन् ।

यसअघि पहिलो संविधानसभामा सभासद हुँदा २० हजार बैंकमा मौज्दात रहे पनि हाल निष्त्रिmय रहेको उनले खुलाएका छन् । स्वकीय सचिव विरु तामाङको नाममा ६० हजार रहेको सम्पत्ति विवरणमा छ ।

अपर तामाकोशी जलविद्युतमा श्रीमतीका नाममा एक सय ४६ कित्ता सेयर रहेको उनले उल्लेख गरेका छन् । उर्जामन्त्रीसँग १५ तोला सुन र ३५ वर्ष पुरानो घर उर्जामन्त्री वर्षमान पुनले आफ्नो सम्पत्ति विवरणमा रोल्पामा २ वटा २५ वर्ष र ३५ वर्ष पुरानो घर भएको उल्लेख गरेका छन् । उनीसँग १५ तोला सुन र आधा किलो चाँदी पनि छ ।

सात लाख रुपैयाँ नगद र साढे ३ लाख रुपैयाँ बैंक मौज्दात रहेको उनले सम्पत्ति विवरणमा खुलाएका छन् । त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवसँग सिरहा र धनुषामा १/१ वटा घर छ । रविकिरण यादव र श्रीमती प्रमिलादेवी यादवका नाममा सिराहा, धनुषा र ललितपुरमा सात स्थानमा जग्गा भएको उनले उल्लेख गरेका छन् । उनीसँग ६ तोला सुन, १० तोला चाँदी र पाँच लाख ५२ हजार रुपैयाँ बैंक मौज्दात छ ।

परराष्ट्रमन्त्री ज्ञवालीको २ तले पक्की घर र २५ सय किताब

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको काठमाडौंमा दुईतले पक्की घर छ भने २ तोला सुन र २ लाख ५७ हजार बैंक मौज्दात रहेको आफ्नो सम्पत्ति विवरणमा खुलाएका छन् । उनीसँग करिब २५ सय पुस्तक छन् भने विभिन्न व्यक्तिसँग रहेको १४ लाख ८५ हजार रुपैयाँ ऋण सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

रक्षामन्त्री इश्वर पोखरेलले भने काठमाडौंको टोखामा ३ तले घर, झापा, भक्तपुर र धादिङमा केही जग्गा रहेको उल्लेख गरेका छन् । उनीसँग ८ तोला सुन र २२ तोला चाँदी छ । आफू र श्रीमती मीरा ध्वँजुका नाममा १३ लाख ४० हजार बैंक मौज्दात रहेको र बैंक, जलविद्युत र कलेजमा गरी १५ हजार २ सय कित्ता सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

त्यस्तै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आफ्नो सम्पत्तिका नाममा खोटाङमा एउटा घर र तीन लाख ८ हजार रुपैयाँ बैंक मौज्दात देखाएका छन् ।

अर्थमन्त्रीको काठमाडौंमा दुई वटा घर

अर्थमन्त्री डा. युवराज खतिवडासँग ९ लाख ६० हजार बराबरको कार रहेको उल्लेख गरेका छन् । आफू र श्रीमतीका नाममा काठमाडौंमा दुई वटा घर र काठमाडौं, भक्तपुर, दोलखा र झापाका ६ ठाउँमा जग्गा भएको उनले सम्पत्ति विवरणमा जनाएका छन् । उनीसँग १० तोला सुन, एक किलो चाँदी र डेढ लाख नगद छ भने विभिन्न बैंक तथा वित्तीय संस्थामा ठूलो सेयर लगानी छ ।

विभिन्न बैंकमा गरी उनको १ करोड ५१ लाख रुपैयाँ बचत रहेको छ । त्यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँग श्रीमती प्रतिमा श्रेष्ठका नाममा काठमाडौंमा एउटा घर र भीमबहादुर विष्टका नाममा गुल्मीमा दुई वटा घर छ । त्यस्तै, ७ तोला सुन तथा विभिन्न बैंक तथा वित्तीय संस्थामा सात लाख ३२ हजार नगद मौज्दात र श्रीमतीका नाममा ३ सय १४ कित्ता सेयर रहेको उनले जनाएको छ ।

वनमन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोटमा एउटा घर १५ लाख रुपैयाँ नगद, ५ तोला सुन, १० किलो चाँदी र बैंकमा २ लाख मौज्दात रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । उनले पार्टीको नाममा रहेको एउटा गाडी चढ्ने गरेको पनि सम्पत्ति विवरणमा खुलाएका छन् ।

खेलकुदमन्त्रीसँग ५० तोला सुन

खेलकुद मन्त्री जगतबहादुर सुनारले आफूसँग ५० तोला सुन रहेको उल्लेख गरेका छन् । उनीसँग एउटा घर र केही जग्गा र आफूसहित श्रीमतिका नाममा २० लाख रुपैयाँ बैंक मौज्दात छ ।

कानूनमन्त्री शेरबहादुर तामाङसँग श्रीमतीका नाममा काठमाडौंमा अढाइ तले घर छ । उनीसँग ३० तोला सुन, एक लाख २८ हजार बैंक मौज्दात र श्रीमतीको एउटा कार रहेको सम्पत्ति विवरणमा खुलाएका छन् । उनको सिन्धुपाल्चोक, मोरङ र खोटाङमा जग्गा पनि छ ।

रक्षामन्त्री पोखरेलको सम्पत्ति

रक्षामन्त्री ईश्‍वर पोखरलेलले ३० लाख ऋण रहेको उल्लेख गरेका छन्। उनले १२ कठ्ठा पैत्रिक सम्पत्ति रहेको उल्लेख गरेका छन् भने श्रीमती मीरा पोखरेलको नाममा विभिन्न ठाउँमा पाँच रोपनी जग्गा रहेको उल्लेख गरिएको छ। त्यस्तै, श्रीमतीको नाममा १५ हजार २०० कित्ता शेयर रहेको उल्लेख गरिएको छ। नौ तोला सुन र २५ तोला चाँदी रहेकोमा टोखामा रहेको तीन तले घर ऋणमा रहेको उल्लेख गरिएको छ।