३३ केजी सुन तस्करीका मुख्य अारोपी ‘गोरे’ काठमाडौंको गौरीघाटबाट पक्राउ
सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अाराेपी चूडामणि उप्रेती (गोरे) लाई गृहमन्त्रालयको विशेष छानबिन समिति अन्तरगत खटिएको प्रहरीको टोलीले बिहान ५:३४ बजे काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको छ । गृह मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमार्फत उप्रेतीलाई सार्वजनिक गरिएको हो । सुन तस्करी र सनम शाक्यको हत्याको अनुशन्धान गर्न गठन भएको समितिले मंगलबार गृहमन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै गोरेलाई पनि सार्वजनिक गरेको छ।
समितिका संयोजक ईश्वरराज पौडेलले गाेरे काठमाडौंमा आएको विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जानकारी दिए। उनको अनुसार गोरेलाई आजै मोरङ जिल्ला अधालतमा प्रस्तुत गर्ने गरी विराटनगर पठाउन लागिएको छ। सुन तस्करी र सनम शाक्यको हत्या मुद्दामा प्रहरीले कूल ६३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। प्रहरी नियन्त्रणमा रहेका ३० बाहेक अरू ३३ जना फरार छन्। प्रहरीले मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती (गोरे) सहित फरार सबैको खोजी गरिरहेको जनाएको थियो।
जिल्ला न्यायाधिवक्ताको कार्यालयले गत बुधबार १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो माग दाबी गर्दै उनीहरुविरुद्ध जिल्ला अदालतमा ‘आपराधिक समुह स्थापना र सञ्चालन गरी सुनको अवैध कारोबार गरेको, अपहरण तथा शरिर बन्धक र कर्तब्य ज्यान’ मुद्दा दर्ता गरेको थियो।