कामचोर ठेकेदार अब प्रहरी खोरमा

हमन्त्री रामबहादुर थापा‘बादल’ले सडक र ट्राफिक व्यवस्थापनका भएका निर्णयहरुलाई कार्यान्वयन गर्न निर्देशन दिएका छन् । विगतका निर्णयहरुको कार्यान्वयन फितलो भएको भन्दै गृहमन्त्री थापाले असन्तुष्टि व्यक्त गरेका हुन् ।

बुधबार गृहसचिव, प्रहरी महानिरीक्षक, काठमाडौं र ललितपुर महानगरपालिका मेयर, उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहितको बैठकमा गृहमन्त्री थापाले भएका निर्णयहरुलाई गम्भिरता पूर्वक कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

‘अर्को बैठकमा आउँदा अघि भएका निर्णय कुन कुन कार्यान्वयन भए विवरण सहित आउनु होला’ गृहमन्त्रीले निर्देशन दिदै भने । गृहमन्त्री थापाले सडक तथा पुल निर्माणको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा कमसल काम गर्ने ठेकेदारको समेत सूची बनाउन समेत निर्देशन दिए । ‘त्यस्ता ठेकेदारहरुको सूची बनाएर सच्चिन अल्मिेटम दिनुहोस, अल्टिमेटम दिएको समयभित्र पनि नसच्चिए जेल हाल्नुहोस्।’

गृह मन्त्रालय सम्हालेदेखि सडक दुर्घटना र ट्राफिक जाम न्युनिकरण तथा धुलो, धुँवा हटाउने गृहमन्त्री थापाले तीन पटक बैठक डाकेर निर्देशन दिइसकेका छन् ।
गत फागुन २९ गते बसेको बैठकले यातायात क्षेत्रको समस्या समाधानका लागि गृहमन्त्रीको संयोजकत्वमा गृहसचिव, अर्थसचिव, भौतिक पूर्वाधार तथा यातायात सचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव, सूचना तथा सञ्चार सचिव, शहरी विकास सचिव, सार्वजनिक खरिद अनुगमन सचिव, प्रहरी महानिरीक्षक, काठमाडौं र ललितपुर महानगरपालिकाका प्रमुख सदस्य रहने गरी निर्देशन तथा अनुगमन समिति गठन गर्ने निर्णय भएको छ ।

चैत १ गते बैठकले उपत्यकाभित्रका ‘जेब्रा क्रसिङ’ भएका ठाउँमा तत्काल रंगरोगन गरेर चिह्न राख्ने, ठूला सवारी साधन (मालबाहक गाडी)का लागि चक्रपथ बाहिर पार्किङको व्यवस्था मिलाउने र त्यसको प्रक्रिया सम्बन्धित महानगर र नगरपालिकाले मिलाउने निर्णय भएको थियो ।

चक्रपथभित्रका ‘ड्राइभिङ सेन्टर’ र गाडी मर्मतका लागि खोलिएका ‘वर्कशप’लाई चक्रपथ बाहिर सार्ने ,पर्यटक बसलाई कान्तिपथबाट तत्काल हटाउर्ने, उपत्यका बाहिर जाने गाडीको बसपार्क सम्बन्धित महानगर, नगरपालिका र ट्राफिक प्रहरीले मिलाउने निर्णय बैठकले गरेको थियो ।बिग्रेका गाडीहरुले सवारी आवागमनमा अवरोध पुर्‍याउने कार्य बढ्दो रहेकाले यसलाई व्यवस्थित गर्न विभिन्न चार ठाउँमा ‘र्‍याकर’ को व्यवस्था गर्ने निर्णय भएको थियो ।

टेलिफोन, इनटरनेट र केवलका तार जथाभावी राख्ने प्रवृत्ति निरुत्साहित गर्न सूचना तथा सञ्चार मन्त्रालय र सम्बन्धित महानगरपालिकाको समन्वयमा व्यवस्थित गर्ने तथा सवारी चाप कम गर्न यात्रु चढाउने र ओराल्ने मात्र गर्ने, पार्किङ गरी सडकमा जाम गर्नेलाई तत्काल कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय बैठकले गरेको थियो । गृहमन्त्री थापाले दुई महिना वितिसक्दा समेत कार्यान्वयन नभएको भन्दै गृहमन्त्रीले तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन् । अन्नपूर्णपोष्टबाट