पाकिस्तानमा भीषण वर्षा, ११ जनाको मृत्यु

पाकिस्तानको पञ्जाब र पख्तुनख्वा प्रान्तमा भएको भीषण वर्षाले ११ जनाको ज्यान लिएको छ । जियो न्युजको एक रिपोर्टअनुसार, बजौर एजेन्सी क्षेत्रमा एक घरको छत र पर्खाल लड्दा कम्तीमा आठजनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका छन् ।

रिपोर्टअनुसार, नौशेरामा चट्याङ पर्दा एक व्यक्तिको मृत्यु भयो । पञ्जाबको भक्कर जिल्लामा एक घरको छत भत्किँदा दुईजनाको मृत्यु भयो भने तीनजना घाइते भए ।

स्वात उपत्यकामा भारी वर्षाका कारण सडकमा पानी भरियो र कारहरू फसे । पाराचिनारमा विगत १० दिनयता वर्षा हुँदा अनि कोह–ए–सफेद पर्वतीय रेन्जमा असिना पर्दा तापक्रम पनि ह्वात्तै घटेको छ ।