मोदीको दोस्रो पटक नेपाल भ्रमण : पोखरा र मुस्ताङको पनि भ्रमणको तयारी

प्रकृतिका मनोरम दृश्यले सजिएको पर्यटकीय नगरी पोखरा र हिमालपारिको जिल्ला मुस्ताङ जो कोही पर्यटकको मनलाई आकर्षित गर्ने स्थलमा पर्दछन् । चाँदीजस्तै टलक्क टल्कने हिमशृंखला तालमा डुबुल्की मारेको हेर्न पाइने पोखराका साथै हिन्दू एवं बौद्ध धर्मावलम्बीको महत्वपूर्ण तीर्थस्थल मुक्तिनाथ र वरपरका हिमाली दृश्यले स्वदेशी एवं विदेशी पर्यटकलाई आकर्षित गरेको छ नै, यी स्थल अतिविशिष्ट व्यक्तिको पनि भ्रमणको गन्तव्य बन्दै आएका छन् ।

विश्वमा नै महत्वपूर्ण शक्ति राष्ट्रका रुपमा अघि बढेको छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ गते हुन लागेको नेपालको औपचारिक भ्रमणका क्रममा मुक्तिनाथको दर्शन गर्दै केही समय पोखरामा पनि बिताउने कुरा यतिखेर चासो र चर्चाको विषय बनेको छ ।

प्रधानमन्त्री मोदीले मुक्तिनाथ दर्शन गरे पछि उहाँ केही समय पोखरा आउने कुरा सँगै पोखरामा उच्च सुरक्षा व्यवस्था गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए । “मुक्तिनाथ दर्शनका क्रममा प्रधानमन्त्री मोदी पोखरा आउने र केही समय भारतीय पेन्सन क्याम्पमा बस्ने भन्ने कुरा आएको छ,” – अधिकारीले भने । मोदी आउने कुरासँगै भारतीय पेन्सन क्याम्पले वरपरको सरसफाइ गर्न शुरु गरिसकेको छ भने मुस्ताङमा तयारीलाई तीव्र बनाइएको छ ।

मोदीको मुक्तिनाथ दर्शनलाई लक्षित गरी स्थानीय व्यवस्थापनका लागि मुक्तिनाथ मन्दिर रहेको वाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाका प्रमुख छेन्तोक छेप्तेन गुरुङको संयोजकत्वमा जिल्ला रेडक्रस सोसाइटीका अध्यक्ष सदस्य सचिव रहेकाे सात सदस्यीय समिति गठन गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए ।

पाैडेलका अनुसार उक्त समितिका सल्लाहकारमा बहालवाला सांसद, जिल्ला समन्वय समितिका सभापति, पूर्व सांसद एवं मन्त्री रहेकाे छ । समितिको संयोजनमा सरसफाइलगायत स्थानीय व्यवस्थापनका काम अघि बढिरहेको पाैडेलले जानकारी दिए । मोदीको मुक्तिनाथ दर्शनलाई लक्षित गरी मुस्ताङमा प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलको संयोजकत्वमा तीनवटै सुरक्षा निकायका प्रमुख रहेकाे सुरक्षा समितिले उच्च सुरक्षा प्रबन्धको काम शुरु गरिसकेको छ । मुक्तिनाथ दर्शनपछि प्रधानमन्त्री मोदी पोखरा आउने विषयले यतिखेर पोखराको सरगर्मी पनि बढेको पाइन्छ ।

विश्वका प्रमुख पर्यटकीय गन्तव्यमध्येमा एक महत्वपूर्ण गन्तव्यका रुपमा रहेकोे पोखरामा अन्तर्राष्ट्रियस्तरका विशिष्ट व्यक्तिको भ्रमणमध्ये आगामी वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्न लाग्नुभएको भ्रमण सबैभन्दा पछिल्लो हो । इतिहासका पाना पल्टाउने हो भने यसअघि सन् १९६१ मा बेलायती महारानी एलिजाबेथ द्वितीयाले भ्रमण गरेकाे पोखरामा सन् १९६३ मा भारतीय राष्ट्रपति सर्वपल्ली राधाकृष्णनले पनि यहाँको भ्रमण गरेकाे पाइन्छ ।

२०७२ चैत १ गतेदेखि ४ गतेसम्म पोखरामा सञ्चालित सार्क मन्त्रिपरिषद् बैठक (मिनी सार्क सम्मेलन) मा सहभागी सार्क राष्ट्रका विशिष्ट पाहुनाले निकै अभिरुचीपूर्वक हेरिएको पोखरामा र त्यसको लगत्तै बेलायती राजकुमार ह्यारी २०७३ जेठ ८ गते पोखरा अाएका थिए ।

सार्क मन्त्रिपरिषद्को बैठकमा आएका सार्क राष्ट्रका विशिष्ट पाहुनाले मुक्तकण्ठले पोखराको प्रशंसा गरेका थिए । भारतीय विदेशमन्त्री शुष्मा स्वराजले भगवानले फुर्सदमा बनाएको ठाउँका रुपमा पोखराको चर्चा गरेकी थिइन । राजकुमार ह्यारीको भ्रमणपछि भारतीय राष्ट्रपति प्रणव मुखर्जी २०७३ कात्तिक १९ गते पोखरा अाएका थिए ।

छोटो समयको भ्रमणका क्रममा यहाँस्थित भारतीय पेन्सन क्याम्पमा नेपाली भूतपूर्व भारतीय गोर्खा सैनिकलाई गरेको ११ मिनेटको सम्बोधनको शुरुमा नै राष्ट्रपति मुखर्जीले पोखराको सुन्दर नगरीको अवलोकनका लागि अवसर जुट्नु आफ्ना लागि सन्तोषको विषय भएको बताएका थिए । वैशाख २८ नजिकिँदै गर्दा प्रधानमन्त्री मोदीको मुक्तिनाथ दर्शनसँगै पोखरामा हुने भनिएको आगमनले समग्र प्रदेश नं ४ कै धार्मिक एवं पर्यटकीय महत्वलाई बढाउने पर्यटन संबद्ध व्यवसायी बताउँछन् ।

अन्नपूर्ण पदमार्ग तीन दिन बन्द हुने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा अन्नपूर्ण पदमार्ग समेत बन्द हुने भएको छ । प्रधानमन्त्री मोदी मुस्ताङ भ्रमण जाने कार्यक्रम तय भएपछि पदमार्ग बन्द गरिएको हो । उक्त क्षेत्रमा भ्रमण गर्ने पर्यटक थोराङ्ला भञ्ज्याङ पार गरेर मुक्तिनाथ मन्दिर पुग्ने भएकाले सुरक्षाका लागि पदमार्ग बन्द गर्न लागिएको जनाइएको छ । मनाङका निमित्त प्रमुख जिल्ला अधिकारी जयराम भण्डारीले तीन दिनसम्म पदमार्गमा आवत–जावत बन्द गर्न लागिएको जानकारी दिए ।

वैशाख २७ देखि २९ गतेसम्म पदमार्ग बन्द गरिने भण्डारीले उनले बताए । अन्नपूर्ण पदमार्गमा आउने पर्यटकलाई तीन दिनसम्म मनाङमै रोकिने भएको छ । मनाङबाट थोरङ्ला भञ्ज्याङ जाने पर्यटकलाई रोक लगाउन अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना निर्देशन दिइएको भण्डारीले बताए । भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणकाक्रममा यही वैशाख २८ गते मुस्ताङको मुक्तिनाथ दर्शनका लागि जाँदैछन् ।