औषधि कसले खान्छ ? धमिराले !
प्रकासित मिति : २०७५ बैशाख २१, शुक्रबार ००:५०
प्रकासित समय : ००:५०
औषधि कसले खान्छ ? स्वाभाविक जवाफ हो- बिरामीले । तर भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भएको रक्त क्यान्सरको औषधि बिरामीले होइन, धमिराले खाएको छ ।
अमेरिकाको म्याक्स फाउन्डेसनले दिएको ‘ग्लिभिक’ नामक निकै महँगो औषधिका ३६ प्याकेट धमिराले नष्ट गरेको हो । आजको कान्तिपुरले पहिलो पृष्ठमा समाचार छापेको छ ।
अस्पतालबाटै प्राप्त जानकारीअनुसार म्याक्सले ग्लिभिक वर्षमा ४ हजार ५ सय प्याकेट सहयोग गर्छ । त्यसको मूल्य एक अर्ब सात करोड रुपैयाँ बराबर पर्छ ।
यसका आधारमा एक प्याकेटको २ लाख ३७ हजार ७ सय ७८ रुपैयाँ हाराहारी हुन आउँछ । धमिराले नष्ट गरेका ३६ प्याकेटको ८५ लाख ६० हजार रुपैयाँ पर्छ ।
म्याक्स फाउन्डेसनले सहयोग गरेका कारण बिरामीले यो नि:शुल्क पाउँदै आएका छन् । उसले सन् २००४ देखि ग्लिभिक, सुटेनजस्ता औषधि उपलब्ध गराउँदै आएको हो ।