दिउँसै लखेटी–लखेटी मान्छे काट्ने गुन्डा नाइकेलाई ,बाँके अदालतले तोक्यो यस्तो सजाय
बाँकेको नेपालगञ्जमा तीन वर्षअघि भएको चेतन मानन्धरको हत्यामा संग्लन गुन्डा नाइके रिगल ढकाललाई सर्वस्वसहित जन्मकैदको फैसला भएको छ । बाँके जिल्ला अदालतका जिल्ला न्यायधीश बिष्णु सुवेदीको इजलाशले नेपालगञ्जका चेतन मानन्धरको हत्यामा संलग्न रहेको भन्दै ढकाललाई सर्वश्वसहित मङ्गलबार जन्मकैदको सजाय सुनाएको अदालतका श्रेष्तेदार दण्डपाणी लामिछानेले जानकारी दिए ।
कथित ‘डन’ रिगलले २०७२ असार २८ गते नेपालगञ्जको धम्बोझीचोक नजिक मानन्धरलाई दिउँसै लखेटी–लखेटी खुँडा प्रहार गरेर हत्या गरेका थिए । घटनामा १५ जना संलग्न भएको किटानी जाहेरी परेकोमा १४ जना कारागारमा छन् ।
काठमाडौंमा गुन्डा नाइके घैंटे इन्काउन्टरमा मारिएको केही दिनपछि नै नेपालगन्ज-५ का ढकाल आफैं अदालतमा उपस्थित भएका हुन् । अदालतले अरु चार जनालाई जन्मकैदको फैसला गरेको छ । प्रशान्त गौतम भन्ने प्रेमध्वज खत्री, विशाल भन्ने छविलाल बस्नेत, नवराज खत्री र मोहनलाल खड्कालाई जन्मकैदको फैसला भएको छ ।
सोहनसिंह ढकाललाई १० वर्षको सजाय तोकिएको छ। दीपेन्द्र सिंह भन्ने दीपेन्द्र मल्ललाई ५ वर्षको सजाय फैसला भएको छ । अन्य सात जनालाई तीन–तीन वर्षको सजाय तोकिएको छ ।
तीन वर्षको सजाय आदेश हुनेमा माधव नेपाली, विवाद पाठक, हरि वली, प्रितम थापा, मनीष चौलागाइँ, यमबहादुर बुढामगर र केशवबहादुर रोकाय रहेका छन् । रिगललाई भगाउन सहयोग गरेको भनिएका दीपक केसीले सफाई पाएका छन् ।
घटनामा संलग्न १४ जनामध्ये रिगलसहित दुई जना बर्दिया, आठ जना बाँके र चार जना कपिलवस्तु कारागारमा छन् ।नेपालगञ्जको मात्रै नभएर देशकै चर्चित घटना बनेको यसमा दर्जन बढी कानून व्यवसायीले बहस गरेका थिए । रिगलको पक्षमा नेपालगञ्जका साथै काठमाडौंबाट समेत कानून व्यवसायीहरू बहस गर्न आएका थिए ।
रिगल ढकाल नेपालगञ्जका गुण्डा नाइके हुन् । रिगललाई ठूलो संख्याका युवाहरू साथ छ । रिगलको समूह टेण्डर, ठेक्कापट्टामा हात हाल्ने गरेको थियो । पहिला रिगलकै साथी थिए, चेतन मानन्धर । पछिल्लो समयमा चेतनले रिगलको साथ छोडेका थिए ।आफनो साथ छोडेकोमा रिगललाई रिस थियो ।
चेतनको हत्या गर्न नेपालगञ्जको एक होटलमा कोठा बुक गरेर रिगलका युवाहरू बसेका थिए । २०७२ असार २८ गते अपरान्ह चेतनलाई कुरा गर्नु छ भनेर धम्बोझीचोक नजिक बोलाइएको थियो । घटनाका समयमा रिगल तरुण दल बाँकेको क्षेत्रीय अध्यक्ष थिए ।
घटना लगत्तै जिल्ला प्रहरी कार्यालय बाँकेमा आयाोजित पत्रकार भेटघाटमा तत्कालीन प्रहरी प्रमुख वसन्त पन्तले मानन्धरलाई रिगल ढकाल आफैंले लेखेटी-लखेटी खुँडा प्रहार गरी हत्या गरेको प्रत्यक्षदर्शी तथा पक्राउ परेका व्यक्तिको बयानका आधारमा पुष्टि भएको थियो । दिउँसै मान्छे काट्ने काम भएपछि बाँकेको सुरक्षा अधिकारीमाथि प्रश्न उठेको थियो ।