प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण मिति तय, मोदी बैशाखमै नेपाल आउने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण मिति तय भएको छ । निर्धारण गरिएको समय अनुसार मोदी २८ बैशाखमै नेपाल आउने भएका छन् । नेपालले ११ जेठमा मोदीलाई स्वागत गर्ने तयारी गरि रहेको थियो भने भारतले नयाँ मिति प्रस्ताव गरेको छ, जसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकार गरेका छन् ।

अब मोदी वैशाख २८ मा नेपाल आउनेछन् । ‘हामीले मे २५ का लागि तयारी गरेका थियौं तर, भारतीय पक्षले मोदीका लागि मे ११ मा मिल्ने भयो भनेपछि त्यस अनुसार नै तयारी सुरु भएको छ’ प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

यद्यपि भ्रमणको औपचारिक घोषणा हुन बाँकी छ । दुई दिने राजकीय भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदी जनकपुर पनि जाने कार्यक्रम छ ।

मोदीको भ्रमणले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण भने पछाडि धकेलिएको छ । प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली हालै मात्र बेङजिङ पुगेर आएका थिए । तर, उनी नेपाल नआइपुग्दै भारतले नयाँ मिति तोक्यो । एकपक्षीय रुपमा तोकिएको मोदीको भ्रमणको नयाँ मितिलाई नेपालले पनि स्वीकार गरेको हो ।