चिनियाँ र भारतीय रेलको भेट अब काठमाडौंमा

पूर्वपश्चिम रेलमार्ग निर्माण भारतलाई जिम्मा दिने योजना बनाएको सरकारले अब भारतीय रेललाई काठमाडौं ल्याउने भएको छ । काठमाडौं आएको चिनियाँ रेल चितवन हुँदै लुम्बिनीसम्म विस्तार गर्ने सरकारी योजना सार्वजनिक भइरहेको अवस्थामा भारतीय रेलको गन्तव्य पनि काठमाडौं बनेको छ ।

सन् २०१६ को मार्चमा चीन भ्रमणका बेला प्रधानमन्त्री केपी ओलीले केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेल सञ्चालन गर्ने सम्झौता गरेका थिए । चिनियाँ प्राविधिकको टोलीले यो रेल मार्गका लागि पौने तीन खर्ब रुपैयाँ खर्च लाग्ने जनाएको छ ।

उत्तरको रेल काठमाडौं ल्याउने सम्झौता भएको दुई वर्षपछि दक्षिणको रेल पनि काठमाडौं ल्याउने सम्झौता भएको छ । यो सम्झौताअनुसार काम भए उत्तर र दक्षिणका रेल काठमाडौंमा भेट हुनेछन् ।

चीनबाट भारत पुग्न दुई सय ३० किलोमिटर रेल यात्रा गर्नुपर्नेछ । यो मुस्किलले एक घण्टाको दूरी हो । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार रक्सौल–काठमाडौं रेलमार्गले जोड्ने सहमति भएको छ । अन्नपूर्ण पोस्ट दैनिकबाट