देशको समृद्धिमा सबै एक हुनुपर्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले तीनओटै तहका चुनाव सम्पन्न भएपछि देशले सङक्रमणको एक चरण पूरा गरेको बताएकी छिन् । संघीय संसद्का दुवै सदनलाई संयुक्त सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सङक्रमणबाट अघि बढेर अब देश विकास र समृद्धिका लागि एक हुन आह्वान गरिन् । उनले लोकतन्त्र मानिसको जीवन पद्धति र अनुभूत गर्ने विषय भएकाले जनताले जीवनस्तर सुधारको अनुभूति गर्न नसकेमा यो केवल खोक्रो नारा सावित हुने विचार व्यक्त गरेकी छिन् ।

तीव्र गतिको समृद्धिको यात्रामा देशलाई अघि बढाउन उनले दुवै सदनका सांसदहरूलाई आह्वान पनि गरिन्। विकास र समृद्धिको यात्रामा छिमेकी राष्ट्रहरूको सम्बन्धलाई समन्वय गर्दै अघि बढ्न पनि राष्ट्रपति भण्डारीको सुझाव छ ।पूर्ण लोकतान्त्रिक समृद्ध मुलुक बनाउन युवाको ऊर्जा अब देशकै लागि उपयोग हुनुपर्नेमा पनि राष्ट्रपतिको जोड छ ।

नेपालको संविधानमा व्यवस्था भएबमोजिम राष्ट्रपतिले प्रतिनिधिसभाको चुनावपछिको पहिलो अधिवेशनलाई सम्बोधन गरेकी हुन् ।सम्बोधन कार्यक्रममा संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू तथा कूटनीतिक नियोगका प्रमुखलगायतलाई आमन्त्रण गरिएको थियो ।