रोल्पा रुन्टीगढीका जनप्रतिनिधिलाई राजिनामा पत्र

नेपाल कम्युनिष्ट पार्टीले रोल्पा रुन्टीगढी गाउँपालिकाका जनप्रतिनिधिहरुलाई राजिनामा दिन भनेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको मगराँत स्वायत्त प्रदेश जिल्ला जनपरिषद रोल्पाले यहाँका जनप्रतिनिधिहरुलाई राजिनामा दिन आग्रह गरिएको पत्र आज गाउँपालिका कार्यालयमै पुगेर बुझाएको हो ।

देशभरका नवनिर्वाचित जनप्रतिनिधिहरुले जनताको हित विपरीत विकास निर्माणको काममा आफ्नै डोजर प्रयोग गर्ने, आफ्ना मान्छेहरुलाई राखेर निर्माण उपभोक्ता समिति गठन गर्ने र बजेटमा अनियमितता गर्ने गरेको भन्दै नेकपाले आज रुन्टीगढी कार्यालयमै पुगेर राजिनामा दिन उल्लेख गरिएको पत्र गाउँपालिका अध्यक्ष बालाराम बुढालाई थम्याएको हो ।

गाउँपालिकाका सम्पुर्ण पदाधिकारीको वैठक वसिरहेको समयमा कार्यकक्षमै पुगेर राजिनामा दिन आग्रह गरिएको सो पत्र थमाईएको हो । मगराँत स्वायत्त प्रदेश जिल्ला जनपरिषद रोल्पाले केही दिन अघि रोल्पा नगरपालिकाका मेयर पुर्ण केसीको पनि राजिनामा माग गरेको थियो । देशभरका जनप्रतिनिधीहरुको राजिनामा माग गर्दै आएको नेकपाले रोल्पामा पनि जनप्रतिनिधीहरुको राजिनामा माग गरेको हो ।।