मन्त्री छान्न फोरममा किचलो
पार्टीले पाउने मन्त्रालयभन्दा तेब्बर बढी मन्त्रीका आकांक्षी भएपछि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालको सरकारमा सहभागी हुने समय लम्बिएको छ। फोरमले केपी ओली नेतृत्वको सरकारमा दुई मन्त्रालय र एक राज्यमन्त्री पाउने सहमति भइसकेको छ। फोरमले सरकारमा सहभागी हुने निर्णय पनि गरिसकेको छ।फोरमबाट अध्यक्ष यादव मन्त्री बन्ने निश्चित छ तर अर्का मन्त्री टुंग्याउन फोरमलाई सकस परेको छ। स्रोतका अनुसार एउटा मन्त्रीका लागि ५ नेता आकांक्षी छन्।
फोरमले पाउने स्वास्थ्य मन्त्रालयमा सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र उपाध्यक्ष रेणुकुमारी यादवले दाबी गरिरहेका छन्। अहिलेको पार्टी मधेसी जनाधिकार फोरम र संघीय समाजवादीबीच एकता भएर बनेकाले एकजना समाजवादी पार्टीबाट आएका नेता मन्त्री हुनु पर्ने उनको माग छ। राजधानीका जिल्लाहरुबाट श्रेष्ठले भोट बटुल्न नसकेको भन्दै उनलाई सरकारमा लैजान नहुने धारणा मधेसबाट प्रतिनिधित्व गर्नेहरू नेताहरूको धारणा छ।
नेतृ यादवले भने महिला भएका कारण समावेशिताका लागि भए पनि सरकारमा आफू सहभागी हुनु पर्ने तर्क गरेकी छन्। अध्यक्ष यादवले श्रेष्ठ र रेणुमध्ये एक जनालाई सरकारमा लैजाने तयारी गरेका छन्। अन्य आकांक्षीहरुले दुबैलाई सरकारमा सामेल नगराउन दबाब दिइरहेका छन्। सेतोपाटीसँगको कुराकानीमा संघीय फोरमका एक नेताले महासचिव रामसहाय यादवलाई सरकारमा सहभागी गराउन पार्टीमा दबाब रहेको बताए।
‘उहाँ विवादरहित मान्छे हो, अवसर दिनुपर्छ भन्ने कुरा उठेको छ’, ती नेताले भने। मन्त्री बन्न बाँके २ बाट निर्वाचित मोहम्मद इस्तियाक राईले पहल गरिरहेका छन्। फोरम लोकतान्त्रिक कांग्रेसमा एकतापछि समाजवादी फोरममा आएका धनुषा २ का उमाशंकर अरगरियाले पनि अध्यक्ष यादवलाई आफूलाई मन्त्री बनाउन दबाब दिएका छन्। पर्सा ३ का हरिनारायण रौनियारले पनि मन्त्रीको आकांक्षा यादवसँग राखेका छन्।
चुनावका बेला खर्च दिएको भन्दै उनले मन्त्री बनाउन यादवलाई दबाब दिएको स्रोतले सेतोपाटीलाई बतायो। ‘उहाँ पप्पु कन्सट्रक्सनको मालिक हो’, स्रोतले भन्यो, ‘मधेस आन्दोलनका बेला खर्च दिएँ। चुनावमा दिएँ त्यसैले मलाई मन्त्री बनाउनुपर्छ भन्ने उहाँको कुरा छ। राजपाका महासचिव रामसहाय यादवले भने एमालेसँग वार्ता नमिलेकै कारण फोरमको सरकारमा सहभागिता ढिलाइ भएको बताए। ‘संविधान संशोधन लगायतका विषयमा सहमतिमा हस्ताक्षर भएको छैन, कुरो टुङ्गिएको छैन’, यादवले सेतोपाटीसँग भने, ‘सरकारसँग छलफल भएपछि मात्र निर्णयमा पुग्नेछौं।’ मन्त्री छान्न आज दिउँसो १ बजे फोरम पदाधिकारीको बैठक बस्दैछ।