गृहमन्त्री बादलले खुवाए जुस,रेशम चौधरीले तोडे अनशन

काठमाडौं- विभिन्न माग राखी अनशनरत कैलाली क्षेत्र नम्बर १ का राष्ट्रिय जनता पार्टीका सांसद रेशम चौधरीले शुक्रबार अनशन तोडेका छन्। गृहमन्त्री रामबहादुर थापाले चौधरी अनशनरत वीर अस्पताल पुगेर अनशन तोडाएका हुन्। सांसद् चौधरी आफूलाई संसद् सदस्यको प्रमाणपत्र तथा शपथ ग्रहणको व्यवस्था मिलाउनुपर्ने, आफूमाथिको मुद्दा फिर्ता लिनुपर्ने, पहिचानका आधारमा संघीय सीमांकन हुनुपर्ने लगायत माग राखी अनशन बसेका थिए।

२०७२ भदौ ७ मा कैलालीको टीकापुरमा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जनाको मृत्यु भएको घटनाका मुख्य योजनाकार मानिएका चौधरीले फागुन १४ मा कैलाली जिल्ला अदालतसामु आत्मसमर्पण गरेका थिए। अदालतले उनलाई थुनामा राख्ने आदेश दिएपछि उनी अनशन बसेका थिए। कैलालीमै अनशन सुरु गरेका चौधरीको स्वास्थ्य अवस्था खराब बन्दै गएपछि उपचारका लागि काठमाडौंको वीर अस्पताल ल्याइएको थियो।

अनशन तोडाउँदै गृहमन्त्री थापाले मुद्दा र अदालती विषय बाहेकका अन्य विषयका माग पूरा गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। चौधरीले टीकापुर घटनाका दोषीलाई कारबाही हुनुपर्ने पक्षमा आफू पनि रहेको स्पष्ट पार्दै घटनाका बेला आफू बर्दिया जिल्लामा रहेको जिकिरका साथ आफू निर्दोष रहेको बताएका थिए।

अनशन फिर्ता लिने क्रममा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्यहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी लगायतका नेता पनि उपस्थित थिए। चौधरीको अनशन फिर्ता लिने सम्बन्धमा शुक्रबार नै प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्वकमल दाहाल ‘प्रचण्ड’ले राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलगायत नेतासँग छलफल गरेका थिए।