चुडियो दुखी,गरिब विरामीहरुको भरोसा ! देशले गुमायो प्रतिभाशाली न्युरो सर्जन

सोमबार भएको युएस-बाङ्ला एयरलाइन्सको विमान दुर्घटनामा ४९ जनाको ज्यान गयो त्यसैमध्येमा ५० वर्षीय न्युरो सर्जन डा. थापाको पनि निधन भयो।देशका लागि सोमबारको दिन कालो दिन नै साबित हुन् पुग्यो । कतिको काख रित्तियो, कतिको सिउंदो पुछियो, कोहि बाँचेर पनि मरे तुल्य भए ।

काभ्रेको कुशादेवी-३ मा २०२४ माघ ४ मा जन्मिएका थापा गरिब विरामीहरुलाई सधैँ सहयोग गर्न चाहन्थे। गरिब विरामीका भरोसा थिए त्यसैले त अस्पतालमा शल्यक्रियाको लागि केही सामान अभाव भए निजी अस्पतालहरुबाट लगेर भएपनि विरामीको प्राण बचाउँथे ।यस्ता सहयोगी तथा मिलनसार चिकित्सक अब भगवानको प्यारा भएका छन् ।  यसको दुःखबोध विशेषगरी चितवनलाई भएको छ किनकी चितवनलाई डा. थापाले निकै ठूलो गुन लगाएका छन् । अनियमितता र विकृतिले ब्याप्त क्यान्सर अस्पताल अहिलेको अवस्थासम्म पुग्नुमा उनको महत्वपूर्ण हात छ ।

भरतपुर अस्पतालमा कार्यरत रहँदा डाक्टर बालकृष्ण थापाले अस्पतालको गरिमा चुलीमा पुर्‍याएका थिए। त्यसैले २०६२ सालमा भरतपुर छाड्न लाग्दा उनको सरुवा बदर गर्न चितवन र रुपन्देहीका झन्डै १४ सय स्थानीयले हस्ताक्षर अभियान नै चलाए। त्यस समयदेखि हालसम्म उनले क्यान्सर अस्पतालमा अतुलनीय योगदान दिएका थिए, चितवनबासीको आँखाको नानी बनेर । नेपालमा एसियाकै उत्कृष्ट क्यान्सर अस्पताल बनाउने अभियानमा थिए। तर, उनको यो अभियान अधुरो नै रह्यो। थापा भरतपुर क्यान्सर अस्पतालमा जानुअघि अस्पतालको छवि त्यति राम्रो थिएन। अनियमितता र विकृतिले अस्पताल थलिएको थियो। तर, उनी नियुक्त भएपछि क्यान्सर अस्पतालले काँचुली फेर्‍यो।

नेपालमा न्यूरो सर्जरीको लागि उनी जत्तिको डाक्टर अरु कोही छैन भन्ने धेरैको मुखबाट सुन्ने गरिन्छ । हुन पनि उनी न्युरो सर्जरीको लागि नेपालमा मात्रै नभई एशियामा नै पनि उत्तिकै प्रख्यात थिए । विशेषगरी ब्रेन ट्युमर भएको विरामीहरुले उनीबाट शल्यक्रिया गराउन चाहेका हुन्थे । उनको व्यवहार र काम बाट सबैजना प्रभावित भएका थिए । थापा सानैदेखि मेधावी विद्यार्थी थिए। उनी कहिल्यै दोस्रो भएनन्। एसएलसी र प्रमाणपत्र तह पहिलो श्रेणीमा पास गरेका थापा २०५१ सालको एमबिबिएस ‘टपर’ हुन्। उनले १० मध्ये ८ विषयमा ‘गोल्ड मेडल’ जितेका थिए।

उनले बंगलादेशको ढाकास्थित बंगबन्धु शेखमुजिव विश्वविद्यालयबाट न्युरोमा एमएस गरेका थिए। उनी सो विश्वविद्यालयमा विदेशी विद्यार्थीको कोटाबाट एमएस पास गर्ने पहिलो र आफ्नो ब्याचका ‘गोल्ड मेडलिस्ट’ पनि हुन्। चिकित्सा क्षेत्र बाहेक थापाको अर्को पहिचान पनि थियो। उनी साहित्य क्षेत्रमा सक्रिय थिए। उनका दुई कवितासंग्रह ‘डाक्टरी कविता’ (२०६१)’ र ‘डाक्टरका कविता’ (२०६९) तथा निबन्धसंग्रह ‘चिरफार’ (२०७०) प्रकाशित छन्।

यसका साथै उनी कुशल वक्ता पनि थिए। नेदरल्यान्ड्सको एक विश्वविद्यालयले थापालाई उत्कृष्ट वक्ताको अवार्ड नै दिएको थियो। उनीसँग नेतृत्वको पनि क्षमता थियो। मेडिकल क्षेत्रमा रहे पनि उनी विभिन्न सामाजिक संघ–संगठनमा सक्रिय थिए। उनी चिकित्सक नेपालका क्षेत्रीय उपाध्यक्ष र नेपाल न्युरो सर्जन समाजका महासचिव थिए।

थापाको निधनबाट एक असल चिकित्सक तथा असल मित्र गुमाएको आभाष भएको बताउँछन् उनका सहकर्मी डाक्टर देजकुमार गौतम । सबैसँग मिल्ने उनी विरामीको उपचारमा दिनरात खटिने गरेको डा. गौतमले बताए । राजधानी छोडेर जिल्लामा गएर सेवा गर्न खोज्ने डा. थापा निकै मेहेनती स्वभावका भएको उनको भनाइ छ । थापा जस्तो होनहार डाक्टरको अभाव क्यान्सर अस्पतालले सधैँ महशुस गर्ने उनले बताए । सो दुर्घटनामा धेरै अमुल्य जीवन समाप्त भए, कतिको सपना थियो होला डा.थापा जस्तै बन्ने तर ती सबैका सपना अधुरो रह्यो कहिल्लै पुरा नहुने गरी ।देशले चिकित्सा क्षेत्रमा अपूरणीय क्षति बेहोर्न पुग्यो । न्यजु२४बाट