दोस्रो पटक निर्वाचिन राष्ट्रपति विद्यादेवी भण्डारीले आज पद तथा गोपनियताको सपथ लिने
दोस्रो पटक निर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आज पद तथा गोपनियताको सपथ लिने कार्यक्रम रहेको छ । अपरान्ह चार बजे सपथको समय मिलाइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
संविधानतः प्रधानन्यायाधीशले राष्ट्रपतिलाई सपथ खुवाउनुपर्ने छ । मंगलबार भएको मतदानमा राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । प्रतिद्वन्द्वी नेपाली कांग्रसकी कुमारीलक्ष्मी राईलाई तेब्बरभन्दा बढी मतान्तरले पराजित गर्दै भण्डारी पुनः राष्ट्रपति निर्वाचित हुनुभएको थियो ।
भण्डारीले ३९ हजार २ सय ७५ र निकटतम प्रतिद्वन्दी राईले ११ हजार ७ सय ३० मतभार प्राप्त गर्नुभएको थियो । राईभन्दा भण्डारीको मतभार २७ हजार ५ सय ४५ ले बढी छ । भण्डारीलाई २४५ संघीय सांसद र ४१५ प्रदेशसभा सदस्यले मतदान गरेका हुन् । राईले ७८ संघीय सांसद र ११६ प्रदेशसभा सदस्यको मत पाउनु भएको थियो ।
तीन संघीय सांसद र पाँच प्रदेशसभा सदस्यको मत भने बदर भएको थियो । कूल खसेको मतको ५१ प्रतिशत पार गरेकाले भण्डारी राष्ट्रपति निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । भण्डारी २०७२ कार्तिक ११ मा गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति निर्वाचित हुनुभएको थियो ।