हृदयविदारक विमान दुर्घटना : २२ नेपालीसहित ४९ जनाको मृत्यु
त्रिभुवन विमानस्थलमा युएस बाङ्लाको विमान दुर्घटना, २२ नेपालसहित ४९ जनाको मृत्यु, २२ घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार हुँदैछ । युएस बाङ्लाको विमान दुर्घटनामा परी कम्तिमा ४९ यात्रुको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनाग्रस्त विमानबाट चालक दलका दुई सदस्यसहित ३१ जनाको शव निकालिएको छ । उनीहरुको शव क्षत–विक्षत अवस्थामा संकलन गरिएको हो । काठमाडौंका विभिन्न अस्पतालमा उपचारका क्रममा १८ जनाले ज्यान गुमाएका छन् । चालक दलका दुई सदस्यसहित २२ घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौं मेडिकल कलेजमा १२, नर्भिक अस्पतालमा ५, ग्राण्डी अस्पतालमा ३ र ओम तथा मेडीसिटीमा एक–एक जनाको उपचार भइरहेको छ । विमानमा चालक दलका ४ सदस्यसहित ३३ नेपाली, ३२ बंगाली तथा माल्दिभ्स र चीनका एक–एक नागरिक थिए । ३३ नेपालीमध्ये १७ जना बंगलादेशमा एमबीबीएस पढ्न गएका विद्यार्थी र १६ जना नेपालका मुख्य–मुख्य ट्राभल एजेन्सीका कर्मचारी रहेको बताइएको छ ।
बंगलादेशको ढाकाबाट काठमाडौं आएको सो विमान दिउँसो २ बजेर १८ मिनेट जाँदा अवतरणका क्रममा ‘रन–वे’बाट बाहिरिएर दुर्घटना भएको हो । दुर्घटना लगत्तै विमानमा आगो लागेको थियो । दुर्घटनापछि दिउँसो दुई बजेर अठार मिनेटमा बन्द गरिएको विमानस्थलबाट साँझ चार बजेर पचास मिनेटपछि विमान उडान–अवतरण गराइएको थियो ।
२२ नेपालीको मृत्यु, ११ घाइते
गृह मन्त्रालयका सहायक प्रवक्ता झंक ढकालका अनुसार २२ नेपाली, २२ बंगलादेशह नागरिक, एक चिनियाँ नागरिकको मृत्यु भएको छ । चालक दलका चारै सदस्यको पनि दुर्घटनामा निधन भएको छ ।घाइते मध्ये २२ जनामा ११ नेपाली छन् । ९ वंगलादेशी, एक माल्दिभ्सका नागरिक छन् भने एक घाइतेको राष्ट्रियता खुलेको छैन । तर, उनी बंगलादेशी भएको अनुमान छ ।
नेपाली नागरिक शिला बजगाईं, अल्जिना बराल, चारु बराल, सोबिन्द्रसिंह बोहरा, प्रवीण चित्रकार, सजना देवकोटा, ज्ञानीकुमारी गुरुङ, श्रेया झा, पूर्णिमा लोहनी, मिली महर्जन, निगा महर्जन, सञ्जय महर्जन, प्रसन्न पाण्डे, हरिशङ्कर पौडेल, सञ्जय पौडेल, कृष्णकुमार सहनी, आश्ना शाक्य, एञ्जिला श्रेष्ठ, सरुना श्रेष्ठ, डा बालकृष्ण थापा, श्वेता थापा र अवधेशकुमार यादवको दुर्घटनामा परी निधन भएको छ ।