घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसादमाथि गोली प्रहार, अवस्था गम्भीर

‘बोक्सी काण्ड’ मा मुछिएका घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीको अवस्था झनझन नाजुक बन्दै गएको छ । उनको उपचार कैलालीमा सम्भव नभएपछि कोहलपुर मेडिलक कलेज रिफर गरिएको छ । सोमबार साँझ ८ः१० बजेतिर अाफ्नै घरमा बसिरहेका मेयरमाथि अज्ञात समूहले गोली र खुकुरी प्रहार गरेको थियो । प्रत्यक्षदर्शी छिमेकी रामबहादुर महराका अनुसार दुई मोटरसाइकलमा अाएका चार जनाले गोली र खुकुरी सँगै प्रहार गरेका थिए ।

सुखड प्रहरीका अनुसार मेयर चौधरीको कम्मर मुनी गोली र टाउँकोमा खुकुरी प्रहार गरेका थिए । उनी अचेत अवस्थामा छन् । चौधरीमाथि प्रहार गरेपछि दुई जना मोटरसाईकलमा र दुई जना नगर प्रमुख घरबाट पश्चिमतर्फ रहेको जंगल तिर फरार भएका थिए भने उनीहरुले प्रयोग गरेको से २ प ३६७१ नम्बरको मोटरसाईकल प्रहरीले बरामद गरेको छ ।

मेयर चौधरीमाथि अाक्रमण भएको छिमेकी महराले देखेका थिए । उनी चौधरीको घरमा पुगेपछि अाक्रमणकारी फरार भएका थिए । छिमेकी महराले नै चौधरीलाई सुखडको घोडाघोडी अस्पतालमा पुर्याएका थिए । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । बोक्सीको अारोपमा स्थानीय रोमा चौधरीलाई यातना दिनेहरुको पक्षमा लागेपछि मेयर चौधरीविरुद्ध जनअाक्रोस बढेको थियो ।

अाजैमात्रै धनगढीबाट सुखड पुगेका केही संचारकर्मीसँग कुरा गर्दै मेयर चौधरीले अाफू अझै घटनास्थल नपुगेको बताएका थिए । संचारकर्मीको जवाफमा चौधरीले अाफूले घटनाको भिडियो पनि अाजै मात्र हेरेको भनेका थिए ।