मुख्यमन्त्री नै भन्छन्: सबै सरकारी कार्यालय माफियाको कब्जामा

भक्तपुर: प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकारी कार्यालय दलाली र माफियाका कब्जामा रहेको बताएका छन् । आइतवार भक्तपुरको चाँगुनारायण नगरपालिकालाई पूर्ण खोपमुक्त नगर घोषणा कार्यक्रममा उहाँले आमनागरिकलाई माफियाले कामै गर्न नसक्ने अवस्थामा पुर्याएको बताए ।

‘सरकारी कार्यालयमा संस्थागतरुपमै भ्रष्टाचार भइरहेको छ, पैसा नखुवाइकन काम गर्नसक्ने अवस्था नै छैन’, उनले भने, ‘जहाँ गयो त्यहीँ भ्रष्टाचार हुन्छ ।’

मुख्यमन्त्री पौडेलले सबै सरकारी कार्यालयमा माफियाको कब्जा रहेको दाबी गरे । ‘सारा माफियाको सञ्जाल फैलिएको छ’, उनले भने, ‘जहाँ गएपनि दलाललाई नसमातिकन काम गर्न सकिँदैन, सबै कार्यालय दलालीहरूले कब्जा गरेका छन् ।’

भ्रष्टाचारको जालोलाई च्यात्दै भ्रष्टाचारको अन्त्य गर्नुपर्ने बताउँदै उनले त्यसका लागि सबै लाग्नुपर्नेमा जोड दिए । सबैले प्रतिबद्ध भएर लागे देशलाई भ्रष्टाचारमुक्त बनाउन सकिने बताउँदै मुख्यमन्त्री पौडेलले भने, ‘अबका दिनमा यो मुलुकलाई भ्रष्टाचारमुक्त बनाउनुपर्छ, अब हामी बचन दिन्छौँ, भ्रष्टाचारबाट देशलाई मुक्त गर्छौँ ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।