दृष्टिमा खोट कि सृष्टिमा ?

अमेरिकी राष्ट्रपति आइजनहावरले अाफ्नाे पद सम्हालेपछि उनका नाममा असंख्य उपहार र शुभकामनाहरु आइरहे । यिनै शुभकामनाको भीडमा एउटा बुट्टेदार सुन्दर कुचो पनि थियो । जुन कुचोलाई आइजनहावरले आफ्नो कार्यकक्षको मध्य भागमा सजाएर राखेका थिए । एकपटक कुनै राष्ट्रका राष्ट्राध्यक्षले भ्रमण सिलसिलामा उक्त कुचोप्रति जिज्ञासापूर्ण नजर हेरेपछि राष्ट्रपतिले मुस्कुराउँदै अाफु विजय भएपश्चात एक मतदाताले उपहारस्वरुप उक्त कुचो पठाएको रहस्य सार्वजनिक गरे ।

अमेरिकी राष्ट्रपति जोन अफ केनेडीले भनेका थिए– ‘सरकार भनेको सिंहमाथिको सवारी जस्तै हो । झरौं उसैले आहार बनाउने, नझरौं हात गलेर फतक्क हुने ।’ तर हाम्रो परिवेशमा सरकारको आसन विलासिताको चरम विन्दु हो । जहाँ पुगेपछि कालिदासहरु रातारात चाणक्य हुन्छन् । साइलकहरु सरस्वतीका वरद्पुत्र हुन्छन् । पानीमरुवाहरु वीर हनुमान कहलाइन्छन् । गाउँका कुखुरा चोरहरु मन्त्री हुनासाथ विदुर नीतिका व्याख्याता हुन पुग्छन् । अनि तीन करोड जनतालाई उल्लू बनाइन्छ

कुच्चो पठाउने सज्जनले कुचो उपहार पठाउनुको औचित्य पुष्टि गर्दै लेखेका थिए– ‘तपाईंले चुनावी भाषणमा अाफु राष्ट्रपति भए प्रशासनमा भएका सारा घुसखोरी र भ्रष्टाचारी सफाई गर्नेछु । मलाई विश्वास छ– यो उपहारले सदा तपाईंलाई आफ्नो बचनको सम्झना गराउने छ ।’ आइजनहावरले अगाडि भने– ‘कुचो उपहार पठाउनेवाला सज्जनका यी शब्दहरु मलाई अति प्रेरणास्पद छन् ।

यसैले मैले कुचोलाई सर्वश्रेष्ठ उपहार सम्झेर सधैं अाफ्नाे सामुन्ने राखेको हुँ ।’ प्रधानमन्त्री भएपछि केपी ओलीले के के उपहार पाए, त्यो त थाहा भएन । तर उनले बेथिति बढार्ने कुचो नपाएको भने स्पष्ट भएको छ । मुलुकका जेष्ठदेखि कनिष्टसंग नारिएर उनको दैनिकी सेल्फीमै बितिरहेको छ । हिजोसम्म शेरबहादुरलाई राज्य चलाउने नाममा अनैतिक कामका लागि उक्साउनेहरु रातारात बालकोट बसाईं सरेका छन् । सामाजिक सन्जालमा आदर्श नागरिक देखिनेहरुको नजानिदो खेती ओलीसंग काँध मिलाएर खिचेको फोटो प्रदर्शनमै केन्द्रित छ । पदमा पुगेपछि त्यही बुके, त्यही खादा, त्यही हजुरी सबैका लागि प्रियकर खान्की बन्ने रहेछ । जो जतिसुकै पटक प्रधानमन्त्री बनेपनि सत्य फेरिदैन । सृष्टि उही हो, फरक हो त दृष्टि ।

मुलुकको कार्यकारी पद प्रधानमन्त्री कार्यालयमा मुख्य सचिवका अतिरिक्त चारवटा सचिव छन् । सहसचिव, उपसचिव, शाखा अधिकृतको संख्या पनि मनग्य छ । त्यहाँ रहेका चारसय बढी कर्मचारीको एकमात्र काम प्रधानमन्त्रीलाई सहयोग गर्नु हो । तर बालुवाटारले सचिवालयका नाममा खडा गर्ने चण्डमुण्ड, हुक्के ढोके, नन्दी भृङ्गीका अगाडि यो शक्ति निरीह र अल्टर हुन्छ ।

प्रधानमन्त्रीको निजी सचिवालयका नाममा खडा हुने समानान्तर सरकार, जसको काम अघोषित रुपमा दलालीलाई संस्थागत गर्ने बाहेक केही भएको छैन् । सिंहदरबारदेखि ब्रम्हनालसम्मलाई राजनीतिक भागवण्डामा संस्थागत गर्ने कर्म यही मण्डलीबाट हुने गरेको विगत इतिहास अहिले पनि उही लिगमा दौडिएको छ । लोकसेवा लडेर आएका कर्मचारीलाई पार्टीको झण्डा भिराएर अदलबदल गर्नेदेखि रसातालसम्म पुर्याउने खेलकुद यही कथित शक्तिकेन्द्रबाट हुन्छ । बालुवाटारको नम्बर नदेखिने फोनबाट दर्जनौं प्रधानमन्त्री भएर फोन दबाउँछन् । थानकोट, कालिकोटदेखि पेटीकोटसम्मका काम मिलाउन दबाब दिन्छन् ।

सन्तान नभएका केपी ओलीलाई बा भन्नेहरुको त्यसै पनि तँछाडमछाड छँदैछ । कामका लागि दबाब दिन नजन्माएका कति सन्तान रक्तवीज भएर निस्कने हुन, त्यसको गन्ती छैन् । कोही कसैप्रति पूर्वाग्रह हैन, आफ्नो सचिवालयको मर्यादातर्फ प्रधानमन्त्री सचेत नहुने हो भने सरकारको मर्यादा एउटा पेटी ठेकेदारबाट अर्को पेटी ठेकेदारको अदलीबदलीमा सीमित हुनेछ । प्रधानमन्त्रीको मर्यादा पनि देउराली अविर दलिएको रातो ढुंगाजस्तै औपचारिकताको शिर झुकाइमा सीमित हुनेछ । ढुंगाको अविर पानीले पखालेका दिन त औकात उही म्याउकै अवस्थामा झर्ने दिनको पर्खाइ हो । पुलिसले घेरा हालेर ठूलो भइने भए त अपराधीलाई पनि सेन्ट्री दिएर सयौं जेलहरुमा रातदिन पुलिसले रुँगेकै छ ।

सरकारका मन्त्रीहरुलाई लाग्दो हो– सृष्टिको शुरुवात उनीहरुले शपथ लिएपछि बल्ल शुरु भएको हो । उनीहरुले बोलेको शब्द ब्रह्म वाक्य हो । अमेरिकी राष्ट्रपति जोन अफ केनेडीले भनेका थिए– ‘सरकार भनेको सिंहमाथिको सवारी जस्तै हो । झरौं उसैले आहार बनाउने, नझरौं हात गलेर फतक्क हुने ।’ तर हाम्रो परिवेशमा सरकारको आसन विलासिताको चरम विन्दु हो । जहाँ पुगेपछि कालिदासहरु रातारात चाणक्य हुन्छन् । साइलकहरु सरस्वतीका वरद्पुत्र हुन्छन् । पानीमरुवाहरु वीर हनुमान कहलाइन्छन् । गाउँका कुखुरा चोरहरु मन्त्री हुनासाथ विदुर नीतिका व्याख्याता हुन पुग्छन् । अनि तीन करोड जनतालाई उल्लू बनाइन्छ– यही हो प्रजातन्त्रको सुन्दर अभ्यास । अहिले त झन् अराजकतालाई संघीय र समावेशी गणतन्त्रको पदवी भिराइने अभ्यास तीब्र गतिमा भएका छन् ।

लबेदा सुरुवालमा चटक्क भएर निस्किने मुख्यमन्त्री, देशभरका दर्जनौं मन्त्रीहरुको पोज, आफ्नै देशका एक चौथाइ भागमा नाम नसुनिएकाहरुको अर्ती, मुलुकको आर्थिक विकासमा २।६ प्रतिशत योगदानमा सीमित निजीक्षेत्रको फुर्ति कसैलाई पचेको छैन् । जब एक व्यक्ति भ्रमले ग्रस्त हुन्छ, उसलाई पागल भनिन्छ । जब धेरै मानिस भ्रमले ग्रस्त हुन्छन, त्यसलाई धर्म भनिन्छ । अहिले जताततै झुटलाई धर्म मान्ने संस्कृति हावी भएको छ । निसन्देह राजनीतिक स्वतन्त्रताले संसारमा भोकाहरुको पेट भरिएको उदाहरण छैन ।

२०१५ सालमा प्रधानमन्त्री हुँदा बीपी कोइरालाले मन्त्रिपरिषद्को पहिलो बैठकमा प्रधानमन्त्रीले पाउने तलब सुविधाबाट एक हजार कट्टी गरेर जनताप्रति ममता देखाएका थिए । पृथ्वीनारायण शाहले बिसे नगर्चीबाट एक रुपियाँ चन्दा लिएर एकीकरणको महाभियान शुरु गरेका थिए । भला यसले देश विकास त नहोला रे तर नेतालाई राजनेता बनाउने भनेकै यस्तै क्रियाकलापले हो । ठूलो भएर के गर्नु कैंचीले छुट्याउने काम गर्छ तर हेपिएको त्यही सानो सियोले हरदम जोड्छ । त्यसैले मानिसले जोडिने कर्म गर्नुपर्छ ।

फाटेको त बादल मात्र राम्रो हो नि । सिक्न टाढा जानै पर्दैन । मानिसले किन दुख पाउँदो रहेछ भन्ने उत्तर खोज्न निस्कँदा सिद्धार्थ राजकुमार भगवान गौतम बुद्ध भएर प्रकट भए । कार्पेन्टरको छोरो यशुक्रिष्ट भएर उदाउलान भनेर कसले विश्वास गरेको थियो रु हामीले प्रजातन्त्रको जननी बेलायतलाई मान्यौं तर हामी त्यस्तो पावन भूमिका नागरिक हौं, जनकपुरका राजा जनकले आफ्नी छोरी सीताको विवाह गर्दा समेत प्रजातान्त्रिक प्रक्रिया अपनाएर बरको छनौट गरे । धनु उठाउने प्रतिस्पर्धामा अब्बल ठहरिएपछि अयोध्याका राजकुमार रामले सीताको हात थाम्ने अवसर पाए । धार्मिक ग्रन्थबाट नै लोकअभ्यास गरिएको त्यो भूमि अहिले जमिनका लागि काटाकाट र मारामारको अवस्थामा छ । सवैको अस्तित्व देखिने सलादजस्तो लोकतन्त्र छोडेर हामी जसको लाठी, उसको भैंसीतर्फ उन्मुख छौं ।

श्रीलंकाबाट प्रेरित लिक्वानले सिंगापुरे जनतालाई यस्तो हिरा बनाइदिए जुन देशका नागरिकले विश्वका कुनै मुलुक टेक्दा पनि कुनै तगारो लाग्दैन् । उनले विदेशीको रेडिमेड माछा कहिल्यै स्वीकारेनन् । बरु बल्छी मागेर जनतालाई माछा मार्न सिकाए । पाउरोटीको साटो पाउरोटी बनाउने सीपको अभियान छेडे । हाम्रा नेताहरु भने आफ्ना युवाहरुलाई मलेशिया पठाउन नेताहरु हौसिए । तर त्यहाँका मोहम्मद महाथिरले देश बनाउन गरेको योगदान चटक्कै बिर्सिए । केही वर्षअघि भेनेजुयलाका राष्ट्रपति ह्युगो चाभेज मर्दा तेर्हदिने दाजुभाइ विते जसरी अनुहार विगार्ने नेताहरु चाभेजले जस्तो जनतालाई समृद्ध बनाउने काममा नौ नारी गलाएर बसे ।

आफ्ना जनतालाई ५० पैसा लिटर तेल उपलब्ध गराउने चाभेजको लोकप्रियता कति होला र ? अनुमान मात्र गर्न सकिन्छ । जो मानिस एक्लो उभिन्छ, उही महान हो । चाभेजले बाचुन्जेल अमेरिकाजस्तो देशलाई च्यालेन्ज गरिरहे । अन्तिम अवस्थामा पनि छिमेकी देश ब्राजिलमा उपचार गरे तर युरोप, अमेरिका टेकेनन् । लाटो छोराले बाउ घुक्र्याएजस्तो छिमेकीलाई मनपरी भन्ने अनि आङ्मा सुके लुतो निस्कियो भने उसैले पठाइदिएको एयर एम्बुलेन्स चढेर राष्ट्रियताको पाखण्डी गीतामा शायदै अरु देशका नेता रमाउँछन् । गुलियो बचन बोल्ने त बोल्ने भइगो, कलबिख तीतो बोल्ने पनि अन्ततः प्रायोजित विज्ञापनको कलाकार रहेको भेद खुल्ने गरेको छ । मान्छे हैन, रोबर्ट मान्छे बोल्ने गरेको छ । गाई विभिन्न रंगका भएपनि दूध सेतै हुन्छ । अलग अलग धर्मको शैली अलग भएपनि आखिर त्यसको निष्कर्ष एउटै हुन्छ– मानिसले शुभ कर्म गर्नुपर्छ ।

नीति भन्छ– अन्यायपूर्वक आर्जन गरेको धनबाट महान फल दिने ठूला ठूला यज्ञ गर्नाले त्यति धर्म हुदैन जति न्यायोपार्जति थोरै भएपनि श्रद्धापूर्वक दान दिनाले हुन्छ । न्यायपूर्वक उपार्जन गरेको धनबाट जीवन निर्वाह गर्ने तथा दानको महत्व थाहा पाउने व्यक्तिले दान र तपस्याबाट स्वर्गलोक प्राप्त गर्दछ । शिक्षाको शुरुवात कितावबाट होइन, कोक्रोबाट हुनुपर्छ । ज्ञानका हकदार शिक्षक नभएर गुरु हुन् । शिक्षकले सूचना दिन्छन् भने गुरुले ज्ञान । ज्ञानले बाँच्ने कला सिकाउँछ । तर सूचनाले फन्टुस गफ गर्न ।

यसैको परिणाम पपकर्न भनेपछि मरिहत्ते गर्ने तर हाँडीमा भुटेको मकैलाई घृणा गर्ने पुस्ता हावी बन्दै गइरहेको छ । कानमा लगाइएको सुनले अाफ्नाे विज्ञापन गर्दैन । त्यसको सौन्दर्यको मानिसले बाहिरबाटै हेरेर गर्न सक्छ । जीवन असन्तोष हो, जो संग जे छ त्यसले हुँदैन पुग्दैन, जे हुँदैन त्यो चाहिन्छ । नभई हुँदैन । जे छ, जे छैन त्यसैको सन्तुलन मिलाउनु र रमाउनु सुख हो । सन्तोष पनि त्यही हो । मलाई कसैले माया गर्छ भन्ने विश्वास नै त सुख हो नि ।
जो कसैको कुरा सुन्दैन त्यो पनि असफल ।

जो सवैको कुरा सुन्छ त्यो पनि असफल । भनिन्छ– नेपालमा हुनेखाने र हुँदा खाने दुई वर्ग छन । तर म त भन्छु– त्यो वर्ग भडखारोमा परेर अहिले मासु्भात खाने र आँसुभात खानेमा विभाजित भइसकेको छ । सुखी हुने उपाय भनेको अाफुसंग जे छैन, त्यो विर्सनु नै हो । मानिस बाँच्छ वर्तमानमा, तर उसलाई विश्वास हुन्छ अर्को जन्मको । स्वर्ग जान पाउँ भनेर हजारौं मन्दिरमा लाखौं घण्ट बजाइन्छन् । दीप बालिन्छन् । भाकल गरिन्छन् । कति निर्दोष पशुपन्छी बली चढाइन्छन् । तिमी अर्को जन्ममा के बन्ने रु प्रश्न नखस्दै धेरैको जवाफ आउँछ– पुतली, चरा । अनिश्चित स्वर्गका लागि आर्थिक, नैतिक र भौतिक रुपमा समर्पित हुने मान्छे अाफ्नाे आँखा अगाडि देखिएका अनगिन्ती अमानवीय दृश्यमा आँखा चिम्लिन्छ ।

एउटा बालक सडकमा अनिश्चित भविष्य बाँचेको हुन्छ । तर धेरैको संवेदनाले छुँदैन । आजको मानिस चित्रको पूजा धेरै र चरित्रको कम गर्दछ । मानिसले चित्रको हैन, चरित्रको पूजा गर्नुपर्छ । जुन दिन तपाईं चरित्र र चित्रको भेद खुट्याउन सफल हुनुहुनेछ । मान्नुस तपाईं आत्मज्ञानी हुनुभयो । मन्दिरमा त मोबाइलको मोहले छोड्दैन भने फेरि शान्तिको खोजी कसरी पूरा हुनसक्छ ?  अध्यात्म शास्त्रमा हैन भावमा हुन्छ । लाटोलाई पनि चिनीको स्वाद थाहा हुन्छ । नीति नियम, शिक्षा समाजको पिछडिएको व्यक्तिलाई लक्षित गरिन्छ ।

कक्षाको सवैभन्दा नजान्नेलाई लक्षित गरी पढाइएको शिक्षा सार्थक हुन्छ । कक्षाको उत्कृष्ट छात्रलाई लक्षित गरिएको शिक्षाले शिक्षक पनि सफल हुँदैन । जिन्दगी लिकमा गुडेको रेल र सडकमा गुडेको गाडीजस्तो गुड्दैन । जसरी खोलाको पानीका लागि बाटो खनिएको हुँदैन, त्यसरी नै जिन्दगीको बाटो पनि अनिश्चित हुन्छ । मन सफा सेतो कपडाजस्तै हो । यसलाई जुन रंगमा डुबाइदियो, त्यसमा त्यही रंग चढ्छ । मानिसले पन्छी जसरी आरामले उड्न सिक्यो । माछासरह पानीमा पौड्न जान्यो । तर मान्छे जसरी पृथ्वीमा रहन भने अझै जानेन ।