होटेलको मस्तीदेखि कालोबजारको कारोबारमा लागेको रकम भराउन मन्त्रीले गरे यतिसम्म बेइज्जत
नेपाल सरकारका एक पूर्व मन्त्रीले नै कालोबजारमा अवैध रुपमा गरेको आफ्नो कारोवारको विवरण मन्त्रालयमा बुझाएको खुलासा भएको छ । यसबाट सरकारको बेइज्जत भएको भन्दै कर्मचारीहरुले भने विरोध गरेका छन् । यसरी कालोबजारमा कारोबार गर्ने पूर्व मन्त्री हुन विसेन्द्र पासवान । उनी पूर्वजनसंख्या तथा वातावरणमन्त्री हुन् । पासवान अचेल दिनहुँजसो मन्त्रालयमा धाउने गर्छन ।
उनी आफ्नो उपचारमा लागेको सबै खर्च र कालोबजारमा गरेको कारोवार राज्यको ढुकुटीबाट भराउन तल्लिन छन् । उनले अवैध तरिकाले भारतीय नोट कालोबजारमा सटही गरेको सरकारका निकायलार्इ जानकारी मात्र दिएका होइनन कालोबजारमा तिर्नुपरेको चर्को शुल्क समेत राज्यको ढुकुटीबाट ब्यहोरिनुपर्ने अत्यन्तै लज्जाजनक माग राखेका छन् ।
नेपाल सरकारको मन्त्री समेत भइसकेको नेताले यसरी लाजमर्दो माग गरेपछि मन्त्रालयका कर्मचारीहरु अहिले पानी पानी भएका छन् । तर, पासवान भने कालोबजारमा चर्को रकम तिरेर भारु साटेको पैसा राज्यको ढुकुटीबाट भराउन दिनरात लागि परेका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र वर्तमान सरकारका मन्त्रीहरुलार्इ समेत प्रभावमा ल्याइ मन्त्रीपरिषदबाट उनको खर्च दिने प्रस्ताव पास समेत गरार्इ सकेका छन् । तर, कर्मचारीहरुले त्यस्तो रकम तिर्न कुनै हालतमा नसकिने भन्दै रोकेका छन् ।
पासवानले अवैध तरिकाले सटही गरेको रकम सानो पनि छैन । उनले कालोबजारमा १५ लाख २ हजार ९ सय ९४ भारतीय रुपैयाँ सटही गरेको जानकारी दिएर सो बराबरको रकम माग गरेका छन् । यो रकम उनले आफू भारतमा उपचार गर्न जाँदा बैंकमा नपाएपछि कालोबजारमा चर्को पैसा तिरेर साट्नुपरेको दावी गरेका छन् । उनले कालोबजारमा चल्तीको दरभन्दा प्रतिसय चार रुपैयाँ बढी तिरेर किनेको जनाएका छन् ।
दिनहुजसो मन्त्रालय धाउने गरेका पासवान कर्मचारीका अगाडि नाटक गर्दै एकदिन सोफामै ढलेका थिए । आफूले निवेदनमा दाबी गरेअनुसार रकम पाउ भन्दै स्वास्थ्य मन्त्रालयमा पुगेका पासवान मन्त्रालय कर्मचारीको कुरा सुनेर सोफामै ढलेका थिए ।कर्मचारीले उपचार खर्चभन्दा बाहिरको बिल बढी आएको र रकम उपलब्ध गराउन कठिन भएको बताउने बित्तिकै सोफामा रिंँगटा लागेको भन्दै ढलेको स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले जानकारी दिए ।
अनौठो त यो छ कि पासवान अचेल आफ्नो स्वास्थ्य उपचारमा ७३ लाख रकम लागेको ढिपी गर्दै हिडेका छन् । त्यो पनि सरकारकै मातहतमा रहेको शिक्षण अस्पताल महाराजगञ्जमा । शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराएका उनी आफै त्यहाँबाट भारतको मेदान्त हिडेको र त्यहाँ समेत उपचार गर्दा ७३ लाख खर्च लागेको अनौठो दावी गर्ने गरेका छन् ।
उनले यस्ता अनौठा बिलसमेत मन्त्रालयमा पेस गरेका छन कि जुन बिल हेर्दा मन्त्रीको मन्त्री पद नै मजाक बन्छ । कालोबजारीदेखि महङ्गा होटेलमा गरेका मस्तीका बिल पनि उनले समावेश गरेका छन् । त्यस्तो मस्तीको खर्च पनि सानो छैन । पासवानले होटेलमा गरेको मस्तीको खर्च करिव १९ लाख छ । त्यो १९ लाख सरकारले दिनुपर्ने उनको माग छ । त्यसैगरी उनले आफूले यात्रा गर्दा लागेको यातायात खर्च भन्दै पेस गरेको रकम पनि अनौठो नै छ । उनले करिब ९ लाख रुपैयाँ यातायातमा लागेको दावी गरेका छन् ।
अनौठो त यो छ कि पासवान यो सबै रकम देउवा सरकारबाटै भराउन लागि परेका छन् । उनी अचेल दिनहुँ मन्त्रालयमा गएर सरकार ढल्न लाग्यो मेरो निवेदन छिटो अगाडि बढाइदिनुपर्यो भन्दै रोइकरार्इ गर्ने गरेका छन् । सरकारको मन्त्री समेत भएको एक नेताले गरेको यस्तो लाजमर्दो वेइज्जती देखेर मन्त्रालयका कर्मचारीहरु चकित छन् । पासवान मन्त्रालयका कर्मचारीसँग त ताकेता गर्न जान्छन नै वर्तमान सरकारका मन्त्रीहरुलार्इ पनि उनले धेरैजसोलार्इ रोइकरार्इ गर्न भ्याएका छन् । उनले आफ्नो फाइल मन्त्रिपरिषदबाट छिटो पास गराउन प्रम देउवासँग पनि निकै लविङ गर्न भ्याएको स्रोतको दावी छ ।