होटल सोल्टीमा ओली र स्वराजबीच गोप्य छलफल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच होटल सोल्टीमा बिहिबार साँझ ४५ मिनेट लामो गोप्य छलफल भएको छ । जहाँ एमालेले स्वराजको सम्मानमा रात्रिभोजको आयोजना गरेको थियो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच वान टु वानु छलफल भएको छ। यसअघि दुई नेताबीच सामूहिक छलफल मात्रै हुने समाचारहरु सार्वजनिक भएका थिए।

होटल सोल्टीमा विदेशमन्त्री स्वराजका लागि एमाले अध्यक्ष ओलीले दिएको रात्रिभोजका क्रममा यो भेटघाट भएको हो। स्वराजसँग वान टु वान भेट गर्नुअघि ओलीले स्वराजसहित भारतबाट आएका टोलीसँग सामूहिक भेट गरेका थिए। भेटमा नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरी पनि सहभागी थिए।

सामूहिक भेटपछि ओली र स्वराज वान टु वान छलफलमा सहभागी भएका थिए। यस्तै, भारतबाट आएको टोलीसँग विष्णु रिमाल, राजन भट्टराई, विष्णु पौडेल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली सहभागीले छलफल गरेका थिए।छलफलपछि ओलीले नेपालको शान्ति र समृद्धिका लागि छिमेकीसँग मिलेर काम गर्न आफू इच्छुक रहेको प्रतिक्रिया दिए ।

भेटका क्रममा ओलीले आपसी हितका लागि प्राकृतिक स्रोतसाधनको उपयोग, सम्पर्क विस्तार, व्यापार, सूचना प्रविधिलगायत क्षेत्रमा भारतसँग सहकार्य गर्न आफू तयार रहेको बताएका थिए ।  भेटमा ओलीले भारतसँग घनिष्ठतापूर्वक काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

अध्यक्ष ओलीले नेपालको लोकतान्त्रिकीकरणमा भारतले गरेको सहयोगप्रति आभार प्रकट गर्दै अब बन्ने नयाँ सरकार शान्ति र समृद्धिका निम्ति क्रियाशील रहने पनि बताएका थिए ।  सो अवसरमा भारतीय विदेशमन्त्री स्वराजले नेपालमा हालै सफलतापूर्वक सम्पन्न भएको निर्वाचनका लागि नेपाली जनतालाई र निर्वाचनमा वाम गठबन्धनले प्राप्त गरेको सफलताका लागि बधाई दिएकी थिइन् ।

यस्तै निर्वाचनबाट प्राप्त स्पष्ट जनादेशले नेपालमा शान्ति र स्थिरता कायम हुने विचार व्यक्त गर्दै विदेशमन्त्री स्वराजले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि निर्वाचनपछि नेपाल विकास र समृद्धिको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरेको बताएकी थिइन् ।