यी उपमेयर जसले गाडी र एट्याच्ड बाथरुम नभएको भन्दै च्यातिन् माइन्युट
आफूलाई गाडीको व्यवस्था नगरिएको भन्दै धनुषा चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादवले निर्णय पुस्तिका ९माइन्युट० च्यातेकी छिन्। मेयर रामबाबु यादव र प्रशासकीय अधिकृत डिकबहादुर कार्मीले मात्रै गाडी चढेर आफूलाई बेवास्ता गरेको, कार्यकक्ष राम्रो नभएको, ‘एट्याच्ड’ बाथरुम नभएको र निर्णय प्रक्रियामा सामेल नगराएको उनको आरोप छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
मेयर यादवका अनुसार उपमेयर मीनाले गाडी र तलबको माग गरी माइन्युट च्यातेकी हुन्। तर, मीनाले भने त्यति कारणले मात्रै माइन्युट नच्यातेको बताइन्। ‘मलाई नगरपालिकाका दैनिक कार्य, विकास निर्माणलगायतका कामबारे जानकारी नै दिइँदैन, दुवैजनाले एकलौटी गर्छन्,’ उनले भनिन्। मीना माओवादी केन्द्रबाट र मेयर यादव संघीय समाजवादी फोरमबाट निर्वाचित हुन्।
नगरपालिकाको गाडी मेयरको छोरा र परिवारका सदस्यले चढ्ने गरेको उपमेयर मीनाले बताइन्। ‘नगरपालिकाको गाडी मेयरका आफन्तहरूले चढ्ने, उपमेयर अनुगमन वा कार्यालयकै काममा जाँदा पनि चढ्न नपाउने रु’ उपमेयर मीनाले भनिन्, ‘गाडी मुख्य विषय होइन, मैले गाडीका लागि माइन्युट च्यातेको पनि होइन। म पनि जनप्रतिनिधि हुँ, मसँग कुनै विषयमा परामर्श गरिन्न। मेयर र अधिकृतले जनप्रतिनिधिको अपमान गर्छन्, त्यसैले च्यात्न बाध्य भएकी हुँ।’
मेयर यादव र प्रशासकीय अधिकृत कार्मी बस्ने कार्यकक्षमा ‘एट्याच्ड’ बाथरुम भएको तर आफू भने बाहिर जानुपर्ने बाध्यता रहेको उनले बताइन्। आफ्नो कार्यकक्षमा पाँचजनाभन्दा बढी नअटाउने उनको भनाइ छ। हरेक महिनाको ५ गते बोर्डको बैठक गर्ने निर्णय भए पनि अहिलेसम्म बोर्डका सदस्यलाई जानकारी नै नदिई एकलौटी रूपमा निर्णय गरिएको उपमेयर मीनाको आरोप छ। मेयर यादवले भने योजनाको विषयमा कुनै असन्तुष्टि नरहेको दाबी गरे। माइन्युट च्यातेको विषयमा बुधबार छलफल गरिने उनको भनाइ छ।