यी हुन् राष्ट्रियसभामा निर्विरोध निर्वाचित २४ उम्मेदवार
राष्ट्रियसभा सदस्यको यही माघ २४ गते हुने निर्वाचनमा उम्मेदवारी दिएकामध्ये पाँच राजनीतिक दलका २४ उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार नेकपा ९एमाले०का नौ, नेपाली काँग्रेसका ८, नेकपा ९माओवादी केन्द्र० का ३ तथा सघीय समाजवादी फोरम नेपाल राष्ट्रिय जनता पार्टी नेपालका दुई दुई उम्मेदवार निर्विरोध भएका हुन् । राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका ८२ मध्ये २४ जना निर्विरोध भएपछि बाँकी ५६ जना चुनावी प्रतिस्पर्धामा छन्।
निर्विरोध हुने एमाले उम्मेदवारमा परशुराम मेघी गुरुङ, हरिचरण शिवाकोटी, नैनकला ओझा, सुमनराज प्याकुरेल, कोमल वली, मीना बुढा, शेरबहादुर कुँवर, इन्दु कडरिया र कमलाकुमारी ओली छन्। त्यस्तै काँग्रेसका तर्फबाट उम्मेदवार भएकामध्ये रमेशजंग रायमाझी, सरिता प्रसाईं, जीतेन्द्रनारायण देव, मुक्ताकुमारी यादव, प्रकाश पन्थी, अनिता देवकोटा, बद्री पाण्डे र तारादेवी भट्ट राष्ट्रियसभा सदस्यमा निर्विरोध भएका छन्।
आयोगका अनुसार माओवादी केन्द्रका तर्फबाट वीना पोखरेल, शशीकला दाहाल र हरिराम चौधरी निर्विरोध भएका छन् । फोरमका रामपुत पासवान र प्रमिला कुमारी तथा राजपाका रमेशप्रसाद यादव र वृषेशचन्द्र लाल राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।