दरबारमार्गको एक होटलमा सामूहिक बलात्कार, डिएसपी र इन्सपेक्टरमाथि छानबिन सुरु
दरबारमार्गको एक होटलमा एक किशोरीमाथि मदिरा पिएर युवकहरुले सामूहिक बलात्कार गरेका छन्। घटनाको अनुसन्धानमा चलखेल गरेको आरोपमा महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी र इन्सपेक्टरमाथि छानिबन सुरु भएको छ।
बलात्कार जस्तो गम्भीर मुद्दा आर्थिक चलखेलमा मिलाइएको भन्दै छानबिन सुरु भएको हो।वृत्तका डिएसपी तिलक भारतीय र इन्सपेक्टर लक्ष्मणसिंह ठकुरीमाथि परिसरले छानबिन थालेको हो। बिहिबार दरबारमार्गकै ल्याण्डमार्क होटलमा एक युवतीलाई सामूहिक बलात्कार भएको थियो। पीडित युवती उजुरी लिएर प्रहरीमा गएपनि प्रहरीले अनुसन्धान नगरी मिल्न दबाब दिएको थियो। अभियुक्तहरु पैसावाल भएकाले उनीहरुले पीडित किशोरी तथा प्रहरीलाई समेत आर्थिक प्रभावमा पारेर केस मिलाएका हुन्।
घटनाबारे थाहा पाएपछि महानगरीय प्रहरी परिसरले एसपी रामदत्त जोशीको संयोजकत्वमा सोमबार छानबिन समिति गठन गरेको छ। बलात्कार मुद्दा मिलाइएको सूचना आएपछि छानबिन थालिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रबिन्द्र धानुकले बताए।
स्रोतका अनुसार युवतीलाई २५ लाख रुपैयाँ दिने सर्तमा उजुरी नगर्न फकाइएको थियो। बिहिबार बेलुका युवती आफ्ना एक केटा साथीसँग कमलादीस्थित ल्याण्डमार्क होटलमा गएकोमा अन्य तीन जनाले मदिरा पिएर उनलाई बलात्कार गरेका थिए।