बैरीतालको पुल निर्माणमा ढिलाई,पुल नहुदा नलगाड र बारेकोट गाँउपालिकालार्इ सास्ती

आठबीसकोट नगरपालिका–११ बाट जाजरकोट नलगाड नगरपालीका–१ मा जोड्ने बैरीताल मोटरेबल पुल निर्माण कार्यमा निकै ढिलाई भएको छ । पुल निर्माण कार्य जिम्मा लिएको निर्माण कम्पनीको चरम लापरबाहीले पुल निर्माण कार्यमा ढिलाई भएको हो । बैरीतालको मोटरेबल पुल निर्माण कार्यको जिम्मा लिएको आशिष निर्माण सेवा, भरतपुर–१० चितवनले सडक डिभिजन कार्यालय चोरजहारीसंग ठेक्का सम्झौता गरेको झण्डै ४ बर्ष बिति सकेको छ तर, पुलको पिल्लरसम्म पनि निर्माण हुन सकेको छैन ।

सम्झौता गरेको मितिले ४ बर्षको समय बितिसक्दा पनि निर्माण कम्पनीले पुलको पिल्लरसम्म निर्माण नगर्नुमा ठेकेदारको चरम लापरबाही भएको नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले वताए । दुई बर्षमै निर्माण कार्य सम्पन्न गरिसक्नु पर्ने पुलको काम चार बर्ष सम्मपनि पुरा गर्न नसक्नुमा आफ्नो जिम्मेवारीप्रति ठेकेदार निकै उदासिन रहेको वताउदै नगर प्रमुख रावलले भने–‘समयमै बैरीतालको मोटरेवल पुल बन्न नसक्दा जाजरकोटको नलगाड नगरपालिका र बारेकोट गाउँपालिका अझैपनि दुर्गममा पर्दै गएका छन्, नलगाड नगरपालिकाको सिर्के, लहँ, कैनासम्म पुगेको मोटरवाटो नकाम सिद्ध भएको छ, यहि पुलको कारण देखाउदै नगरपालिका र गाउँपालिकामा स्थापना हुने भनेका बैंक शाखाहरु स्थापना हुन सकिरहेका छैनन्, बैंकका शाखाहरु नहुदा उपभोक्ताहरुले निकै दुःख भोग्नु परिरहेको छ, त्यतिमात्र नभएर बारेकोट गाउँपालिका र नलगाड नगरपालिकामा रहेको राष्ट्रिय गौरवको आयोजना नलसिङ गाड जलविद्युत आयोजनाको डिपीआर तथा पुर्वाधार निर्माण कार्यलाई समेत यस पुलले असर पुर्याएको छ ।’

मोटरेवल बेलीबृज तथा ट्रस्टबृजको सामान ढुवानी गर्न निकै कठिन हुने वताउदै आशिष निर्माण सेवाका एमडी बिजय गौलीले रिम्नाको पुल नबन्दासम्म बैरीतालमा बन्ने पुलका सामाग्री ढुवानी गर्न नसकिने वताउदै आएका थिए । रिम्नाको माटरेवल पुल निर्माण गर्ने जिम्मा लिएको अनक कन्ट्रक्सन प्रालीले तोकिएको समय अगावै रिम्नाको पुल निर्माण गरि सकेको छ । समयमै रिम्नाको पुल बनी सकेपछि एलपी ट्रकहरु सामान सहित रिम्नावाट रुकुमको राडी पुगिसकेका छन् तर, बैरीताल पुलको सामान भने अझै ढुवानी हुन सकेको छैन ।

पिल्लरको काम पुरा भईसकेपछि बेलीबृतका नटहरु कस्नमात्र तीन महिनाको समयलाग्ने आशिष निर्माण सेवाका साईट ईन्चार्ज तथा ओभरसेर तेजविक्रम शाहीले वताए । पिल्लरको काम सुरु गरिसकेका छौं ईन्चार्ज शाहीले भने–‘बेलीबृजको सामान केही दिनमै ढुवानी हुन्छ, हामी यसै आर्थिक बर्षमा कामसम्पन्न गर्नेगरि काममा जुटी रहेका छौं ।’ पुल निर्माणको काममा स्थानियले अबरोध सृजना गरेको वताउदै निर्माण सेवाका साईट इन्चार्ज शाहीले भने–‘काम छिटो सम्पन्न गर्नका लागि रुकुम आठबीसकोट नगरपालिकाका प्रमुखले स्थानीयको अबरोधलाई सहज बनाउन सहयोग गरिदिन आग्रह गरेका छौं ।’

आठबीसकोट नगरपालिका–११ का भागवत रावलले पुल निर्माण गर्दा आफ्नो घर, जग्गामा ठुलो क्षेती पुगेको भन्दै काममा अबरोध सृजना गरेको वताईएको छ । पुल निर्माण कार्यको सुरुवातमै आफ्नो घर–जग्गामा पुग्ने क्षेतीकाबारेमा भागवतले समस्या राखेपछि सडक डिभिजन कार्यालय रुकुम चौरजहारीले भागवतका छोरा बिष्णु रावललाई सुपरभाईजरमा नियुक्ति दिउला भनेर कामको सुरुवात गराएको भएतापनि कार्यालयले छोरालाई सुपरभाईजरको नियुक्ति नदिएको भागवतले आरोप लगाएका छन् ।