सिन्धुलीमा निकालियाे हावाबाट विद्युत

सिन्धुलीमा हावाबाट बिजुली उत्पादन गरिएको छ। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका– १ मा अहिले हावाबाट सफल रुपमा विद्युत् उत्पादन गरिएको हो। त्यस क्षेत्रका बासिन्दा अहिले हावा र सौर्य प्रणालीले गाउँलाई उज्यालो बनाइरहेका छन्।

यसलाई चिसापानी वायु तथा सौर्य मिश्रित मिनि ग्रिण्ड परियोजना नाम दिइएको छ। यसबाट ३५ किलोवाट विद्युत् उत्पादन भइरहेको जिल्ला समन्वय समिति सिन्धुलीका वातावरणीय अधिकृत सन्दिप उपाध्यायले जानकारी दिएका छन्।

नेपाल सरकार तथा एसियाली विकास बैंकको रु एक करोड ७२ लाख ५८ हजार ७५६ सहयोग, उपभोक्ता, हरिहरपुरगढी गाउँपालिका र जिल्ला समन्वय समिति सिन्धुलीको लागत रु १७ लाख ४० हजार ७ रुपैंया गरी कूल एक करोड ८९ लाख ९८ हजार रुपैँयामा परियोजना सम्पन्न भएको वातावरणीय अधिकृत उपाध्यायले जानकारी दिए।

परियोजनाको कूल क्षमतामध्ये १५ किलोवाट सौर्य र २० किलोवाट वायु गरी ३५ किलोवाट विद्युत् नियमित उत्पादन भइरहेको छ। बिहान १० बजेपछि वायुको कम चाँप हुँदा विद्युत् उत्पादनमा केही कमी हुने हुँदा बिहान १० बजेपछि सौर्य प्रणालीबाट ब्याट्री चार्ज हुने र रातको समयमा सौर्य प्रणाली निष्क्रिय भई हावाबाट मात्र ब्याट्री चार्ज हुने भएकाले यी दुबै मिश्रित प्रणालीबाट त्यस क्षेत्रका उपभोक्तालाई निरन्तर विद्युत् वितरण हुने बताइएको छ।