सिलवालका नाममा इन्टरपोलमा रेडकर्नर नोटिस जारी

ललितपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित एमाले सांसद नवराज सिलवाललार्इ पक्रन नेपाल प्रहरीले रेड कर्नर नोटिस जारी गरेको छ । देशभित्र व्यापक खोजि गर्दा पनि नभेटिएपछि प्रहरी प्रधान कार्यालयले उनलार्इ पक्रन इन्टरपोल मार्फत रेड कर्नर नोटिस जारी गरेको हो ।

नेपाल प्रहरीका पूर्व डिआर्इजी समेत रहेका सिलवालले आईजीपी बढुवा विवादमा सर्वोच्च अदालतमा बुझाएको कार्य सम्पादन मूल्यांकन कीर्ते भएको ठहर भएपछि उनीमाथि अनुसन्धान भइरहेको छ । सोही मुद्दाको क्रममा उनी प्रहरीको जागिर छोडेर उनी नेकपा एमालेमा प्रवेश गरी सांसद बनेका थिए । ललितपुर १ बाट प्रतिनिधि सभामा निर्वाचित भए लगत्तै प्रहरीले उनीमाथिको अनुसन्धान अगाडि बढाएर उनका नाममा पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि उनी फरार रहेका छन् ।

सिलवाल विदेशमा रहेको भन्ने सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले सोमबार इन्टरपोलमा डिफ्यूजन नोटिस जारी गरेको जनाएको छ । डिफ्युजन नोटिस जारी भएपछि उनलाई अब १९२ देशका प्रहरीले नै निगरानीमा राखेर फेला पारेमा नेपाल प्रहरीलाई खबर गर्ने आशा गरिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले यसअघि ललितपुर प्रहरीलाई पत्राचार गर्दै अनुसन्धानका लागि सिलवालसँग सोधपुछ गर्नुपर्ने भएकाले उपस्थित गराइदिन पत्राचार गरेको थियो । तर एकसातापछि ललितपुर प्रहरीले फेला नपारेको भन्दै काठमाडौंलाई पत्र पठाएको थियो । । त्यसलगत्तै प्रहरीले खोजीका लागि देशैभरका प्रहरीलाई पत्राचार गरेको थियो ।

त्यति गर्दा पनि उनी पक्राउ नगरेपछि देशबाहिर भएको भन्ने सूचनाका आधारमा प्रहरीले नोटिस जारी गरेको बताइएको छ । उनले दुई दिनअघि आफू विदेशमा नभएको र नेपालमै भएको दाबी गर्दै भाइबरमार्फत एक अनलाइनलाई अन्तर्वार्ता दिएका थिए ।