६ नम्बर प्रदेशका प्रदेशसभा सदस्यले लिए सपथ
प्रदेश नम्बर–६ का प्रदेश सदस्यले सपथ लिएका छन् । सुर्खेत जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा प्रदेश सदस्यहरुले सपथ लिएका हुन् । प्रदेश प्रमुख दुर्गाकेशर खनालले ६ नम्बर प्रदेश सभाका जेष्ठ सांसद हिमबहादुर शाहीलाई पहिले शपथ ग्रहण गराएका थिए । जेष्ठ सांसद शाहीले अन्य ३९ सांसदलाई शपथ ग्रहण गराएका थिए ।
प्रदेश सांसदलाई शपथग्रहण गराएपछि प्रदेश प्रमुख खनालले अब आउने चुनौतिलाई वुद्धिमतापुर्वक पुरा गर्नु पर्ने बताउदै ऐतिहासिक दायित्व सबैको काँधमा आएको बताए । उनले प्रदेश नम्बर–६ को सुख, शान्ति र समृद्धिका लागि अब सबैको ऐक्यवद्धता र दृढ संकल्प आवश्यक रहेको बताए ।
प्रदेश प्रमुखले गरे पदभार ग्रहण
प्रदेश नम्बर–६ का प्रदेश प्रमुख दुर्गाकेशर खनालले आज (आईतबार) पदभार ग्रहण गरेका छन । प्रदेश प्रमुखको सपथ ग्रहण लिइसकेपछि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत आएका खनालले क्षेत्रीय वन निर्देशनालयमा रहेको प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहणपछि खनालले प्रदेश सांसदहरुलाई सपथ खुवाउने जिल्ला समन्वय समितिको हलमा कार्यक्रम तोकेको पत्रमा हस्ताक्षर गरेका थिए । संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै प्रदेश प्रमुख खनालले प्रदेश–६ को विकासका लागि आफू कटिवद्ध रहेको बताए । उनले सवैपक्षको साथ र सहयोगको अपेक्षा राखेको भनाई राखेका थिए ।