कांग्रेस–मधेसी गठबन्धन तालमेल प्रयास

राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस र मधेस केन्द्रित दुई दलबीचको तालमेल अझै निष्कर्षमा पुग्न सकेको छैन । प्रदेश २ को सिट बाँडफाँटमा कुरा नमिल्दा तालमेल नटुंगिएको हो ।

कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमबीच आइतबार आन्तरिक छलफल गरी सोमबारसम्म सहमति जुटाउने प्रयास भइरहेको बालुवाटार स्रोतले जनायो । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले मधेसी दलसँग सहमति जुटाउन आन्तरिक गृहकार्य गर्न केन्द्रीय सदस्यहरू विमलेन्द्र निधि, रामशरण महत र मीनेन्द्र रिजाललाई जिम्मेवारी दिएका छन् ।

शनिबारको छलफलमा राजपा र फोरमले प्रदेश २ को ८ सिटमा ५ सिट दाबीगरेका छन् । कांग्रेससँग तालमेल नगरे पनि राजपा र फोरम गठबन्धनले २ नम्बर प्रदेशमा ४ सिट जित्ने करिब निश्चित छ । बहुमतीय पद्धतिबाट हुने निर्वाचनमा दुई सिट (दलित, अपांगता भएका व्यक्ति) र एकल संक्रमणीयतर्फको निर्वाचनमा दुई सिट मधेसी गठबन्धनले जित्ने निश्चितजस्तै छ, कान्तिपुर दैनिकमा खबर छ ।