गाउँ गाउँमा सिंहदरबार नारामै सिमित, डोल्पालीको सास्ती उस्तै

सिंहदरबारको अधिकार घरदैलोमा भन्ने कुरा डोल्पाली जनताको हकमा भने लागू हुन सकेको छैन ।भौगोलिक रुपमा बिकट हिमाली जिल्ला डोल्पा काम परेको बेला जनप्रतिनिधि र कर्मचारी नभेटिने गरेपछि जनताले पहिलेकै जस्तै सास्ती खेप्नु परेको हो । यतिखेर डोल्पाका आठ वटा स्थानीय तहमध्ये अधिकाशं स्थानीय तहमा सचिव र अध्यक्ष कार्यलयमा नभेटिने गरेपछि जनतालाई पञ्जीकरण, सिफारिस लगाएतका सुविधा लिन समस्या भएको छ ।

२ नगरपालिका र ६ वटा गाउँपालिका गरेर ६५ वटा वडा रहेको डोल्पामा १८ जना वडा सचिवले सबै वडा धानेका छन्, बाँकी ४७ वटा वडा सचिव विहिन छन् । ‘११ वडा रहेको ठुलीभेरी नगरपालिकामा यो समयमा एक जना मात्र वडा सचिव छन्, कोही नभएपछि दिनमा सेवा लिन आउने २० देखि ३० जनाको काम आफुले गरिदिन्छु’ ठुलीभेरी नगरपालिकाकी सहजकर्ता दिलु केसीले बताईन् ।

शे–फोक्सुन्डो गाउँपालिकाका जनताहरु सात दिन लगाएर नागरिकता र नावालक परिचय पत्र बनाउन सदरमुकाम दुनै पुग्दा सचिव नभएर काम नभएको शे–फोक्सुन्डो २ का कुञ्जाङ गुरुङले बताए । वडा सचिव र अध्यक्ष नभएपछि सिफारिसका लागि दिनभर जिल्ला समन्वय समितिका सह संयोजकको घरमा बसेर सिफारिस ल्याएको छिरिक फुँञ्जा गुरुङले बताए । जनप्रतिनिधि र कर्मचारीहरु नभेटिँदा उनीहरुका घर-घर धाउँदै हप्तौ दिन बितेको उनको गुनासो छ ।

डोल्पामा ६ जना वडा सचिवहरु जिल्लाका विभिन्न स्थानीय तहको निमित्त कार्यकारिणी अधिकृतको जिम्मेवारी लिएर काम गरिरहेका छन् । गाँउ-गाँउमा सिंहदरबार पुगेपनि उपल्लो डोल्पाबासीलाई सचिव र अध्यक्ष खोज्दै हप्तौँ हिँडेर सदरमुकाम पुग्नु पर्ने बाध्यता कायमै रहेको भन्दै उपल्लो डोल्पाबासीले गुनासो गरे ।

‘छार्काकी कुङापुटी लामाका अनुसार वडाका अध्यक्षबाट हुने काम सदरमुकाम दुनै पुगेर समन्वयका कर्मचारीबाट गराउनुपर्ने बाध्यता छ, कहाबाँट भयो घरघरमा सिँहदरवार उनले प्रश्न गरे, नौ महिना अगाडि जस्तो थियो अहिले पनि उस्तै छ डोल्पा’, ‘जनताको काम छोडेर काठमाडौं बस्ने जनप्रतिनिधिलाई भोट दिएर बेकार भयो’ उनले थपे । डोल्पाका सबैजसो स्थानीय तहका प्रमुख उप प्रमुख, वडा अध्यक्ष कर्मचारी सबै राजधानी केन्द्रित भएर जनताको काम ठप्प गराएको उनले बताए । हिँउदको समयमा जनप्रतिनिधि र कर्मचारीहरु जनताको काम छोडेर तराई तिर झरेपछि जनतालाई शास्त्री भएको नागरिक अगुवा सुरेन्द्र ढकालले बताए ।

जनताको काम अघिल्लो संरचनाको भन्दा पनि जनप्रतिनिधि आईसकेपछि झनै ओझेलमा परेको उनको भनाई छ । कर्मचारी र जनप्रतिनिधिको जाडो छल्न जाने प्रबृतिले डोल्पाली जनताको सेवा प्रवाह रोकिएको नागरिक अगुवा ढकालले बताए । जिल्लाका ४७ वडा अझै सचिव विहिन छन्, भएका सचिव पनि विभिन्न बाहानामा जिल्ला बाहिर गएका छन्, आजभोली जनताको दैनिक काम प्रभावित भएको छ त्रिपुरा सुन्दरी नगरपालिकाका स्थानीय सुमन थापाले जानकारी दिए ।