राजधानीमै रहेर पनि किन आएनन् शक्ति बस्नेत जाजरकोटीहरुको जमघटमा ?

आखिर के थियो त्यस्तो व्यस्तता ?

जिल्लाको परिचयलाई बदल्ने उद्देश्य राखेर शुक्रवार अनामनगरस्थित संवाद डबलीमा जाजरकोटीहरुको ठूलै जमघट भयो तर, उक्त जमघटमा जाजरकोटका प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेत भने उपस्थित भएनन् । जनताको अवस्था परिवर्तनका लागि जिल्लाको परिचय बदल्ने आयोजित उक्त जाजरकोटी जमघट कार्यक्रममा बस्नेतको अनुपस्थितिले बस्नेतको सौन्दर्यशास्त्रलाई नयाँ उचाईमा पु¥यादिएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चाको विषय बनेको २०६६ सालमा फैलिएको झाडापखालाले झण्डै तीन दर्जन सर्वसाधारणको ज्यान लिएकाे थियाे । पुनः २०७१÷०७२ मा फैलिएको इन्फुलुएन्जा प्रकोप, २०७२ मंसिर ४ गते ५४ जनाको ज्यान जाने गरी भएको जाजरकोट राउतगाउँको भेरी बस दुर्घना, दुई दर्जन मान्छेको ज्यान जानेगरी २०७३ फागुन २५ मा भएको बस दुर्घटना र यो वर्ष पुसको तेस्रो सातादेखि जुनीचाँदे गाउँपालिकामा झण्डै १४ जनाको ज्यान जानेगरी फैलिएको भाइरल ज्वरोको प्रकोप मात्र चर्चाको विषय बनिरहेका बेला जिल्लाको परिचयलाई बदली जनताको अवस्थामा परिवर्तन ल्याउन काठमाडौंमा जाजरकोटीहरु जमघट भएका थिए ।

प्रकृति र संस्कृतिले भरिपूर्ण जाजरकोट जिल्लाको परिचयलाई रुपान्तरण गर्न जिल्लाको पुरानो चिनारीका रुपमा रहेको लोक संस्कृति तथा झाँकीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गरी कला, संस्कृति एकेडेमीहरुको पाठ्यक्रममा समावेश गर्न जाजरकोटीहरुको जमघट केन्द्रित थियो ।

एकाग्र, र एकाङ्कीपनको सौन्दर्यशास्त्रका पुत्र जस्तै मानिने नेता बस्नेतले चुनावताका जनताको अवस्था परिवर्तनका लागि आफ्नो उम्मेदवारी भनेको भए पनि जाजरकोटीको जमघटमा पुग्न सकेनन् । हुन त आफूलाई जाजरकोटको नेता भन्दा पनि देशकै नेताका पंक्तिमा राख्न खोज्नु र सबैको साझा र प्रिय नेता बन्न खोज्नु नेता बस्नेतका मौलिक विशेषता हुन् ।

जनताको अवस्था परिवर्तनका सन्दर्भमा मानव विकास सुचकाङ्कका हिसाबले ७४ औं स्थानमा रहेको जाजरकोट जिल्ला विकसित भएर ६८ औं स्थानमा आइपुगेको नेता बस्नेतको शास्त्रीय तर्क छ । जाजरकोट जिल्ला विकासको तीव्र गतिमा अघि बढिरहेको नेता बस्नेतको शास्त्रीय भनाइ छ । उनको शास्त्रीय भनाइमा चित्त बुझाएर जिल्लाबासीहरु चुप लागेर बस्नु पर्ने अवस्था आएको छ । किनकी माथिल्लो तहमा पहुँच भएका नेताहरु औलामा गनिने छन् ।

अत्यन्तै सभ्य र शिष्ट तरिकाले मिठो बोलीमा अन्तिम अवस्थासम्म जाजरकोटी जमघटमा आइपुग्ने वचन दिएका नेता बस्नेत अब बन्ने नयाँ सरकारको मन्त्री बन्न गुलामी र चाकडी कर्मबाट फुर्सद नभएकै कारण जाजरकोटी जमघटमा नआइपुगेको बुझियो । दिनको संकेत बिहानीले गर्छ भनेजस्तै नवनिर्वाचित जनप्रतिनिधिहरु जिल्लाप्रति कति जिम्मेवार भएर खट्दै छन् भन्ने कुराको राम्रो संकेत जाजरकोटी जमघटले गराएको छ । व्यवस्था परिवर्तनका नाममा गाउँको सिंहदरबारमा विराजमान सरकार प्रमुखहरु मासिक एक लाख बराबरको इन्धन खर्चको बिल मिलान गर्नमा होडबाजी गरिरहेका छन् ।

आफैं बोक्सी, आफैं धामी भने जस्तै गाउँका सिंहदरवारका मालिकहरु आफै बजेट विनियोजन गर्छन् र विनियोजित बजेट कार्यान्वयनका लागि अदृश्य विषय जोडेर मालिक बन्ने प्रतिष्पर्धा गरिरहेका छन् । गाउँको सिंहदरबारलाई सार्वजनिक खरिद ऐनले छुनै सकेको छैन । आवश्यक सामग्री खरिदका लागि निकै लुँछाचँुडी भैरहेको छ । तर जिल्लाको सार्वजनिक हितमा काम गर्न र जिल्लाको परिचय बदल्न फुर्सद छैन जनप्रतिनिधिलाई ।