अाजै प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने सरकारकाे तयारी
मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने तयारी गरेको छ । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार अाज १० बजे बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख तोक्नुका साथै प्रदेशको कार्य सञ्चालन गर्ने गरी अस्थायी केन्द्र तोक्न लागेको हो।
प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने बताउँदै आए पनि सहमति जुट्न नसकेपछि यी दुवै निर्णय आफैँ गर्न लागेका हुन्। यही निर्णय गर्न देउवाले आज नौ बजे मन्त्रिपरिषद् बैठक डाकेका हुन् । मंगलबार दिउँसो चार बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइए पनि अन्तिममा स्थगित भएको थियो ।
निर्वाचन आयोगले सोमबार पत्रकार सम्मेलन गर्दै माघ ४ सम्म प्रदेश प्रमुख नतोके माघ २४ गतेको राष्ट्रियसभा निर्वाचन प्रभावित हुने चेतावनी दिएपछि सरकारले बुधबारनै यो काम सक्न लागेको हो।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख तोक्ने तयारी गरेको जानकारी दिए । ‘प्रदेश प्रमुख तोक्न गृहकार्य पूरा भएको छ, बुधवारको मन्त्रिपरिषद् बैठकले प्रमुख तोक्ने निश्चित हो’, उनले भने। प्रदेश प्रमुख कसलाई बनाउने भन्ने लगभग तय भइसकेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रदेश प्रमुखमा पूर्वसचिव एवं निर्वाचन आयोगका पूर्वआयुक्त दोलखबहादुर गुरुङ, मोहनराज मल्ल, अनुराधा कोइराला, रत्नेश्वरलाल कायस्थ, उमाकान्त झा, दुर्गाप्रसाद खनाललगायतलाई सिफारिस गर्ने गरी प्रस्ताव तयार पारेको बताइएको छ ।