संखुवासभामा जीप दुघर्टना : गाउँपालिका अध्यक्षसहित पाँचको मृत्यु

संखुवासभाको मकालु गाउँपालिका–२ हेदङ्नामा आइतबार भएको जीप दुर्घटनामा गाउँपालिकाका अध्यक्षसहित पाँचजनाको ज्यान गएको छ । सदरमुकाम खाँदबारीबाट भोटखोलाको वरुण मेला भर्न जाने क्रममा बा५ च १३०९ नम्बरको पिकअप सडकबाट करिब ७ सय मिटर तल अरुण नदीको बगरमा झरेर दुर्घटनाग्रस्त भएको हो ।

यो दुर्घटनामा मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवाल, जिल्ला समन्वय समितिका सूचना अधिकारी सुबासचन्द्र कुइँकेल र मकालुमा बस्दै आएका हेदाङ्नाका एमालेका स्थानीय नेता सुरेश राईसहित पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक सन्तोष खड्काले बताए ।

प्रनाउ खड्काका अनुसार यो दुर्घटनामा परेका अन्य दुईजनाको सनाखत हुन बाँकी रहेको छ । यो जीपमा १२ जना भन्दा धेरै यात्रु सवार थिए । घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको संखुवासभा प्रहरीले जनाएको छ ।