दिन कट्नी र मानो पचनीको राजनीति

एकजना वैज्ञानिक प्रयोगशालामा झिँगाको कान खोजिरहेका थिए । उनले एउटा झिँगा समाते । अनि मुट्ठी खोलेर ‘उँड’ के भनेका थिए, तत्काल झिँगा उँड्यो । अर्को झिँगा समातेर खुट्टा थुतेर उँड भने त्यो पनि उड्यो । फेरि थप झिँगा समाएर पखेटा चुडेर उँड भने तर त्यो झिँगा उडेन । यसपछि ती वैज्ञानिकले निष्कर्ष निकाले– ‘झिँगाको कान पखेटामा हुँदोरहेछ । त्यसैले त पखेडा चुडाएर उँड भनेको उडेन ।’

लेखक

नेपाली राजनीतिको प्रयोगशाला मानिने दलीय सिण्डिकेट पनि बाक्लै यिनै झिँगे वैज्ञानिकको निष्कर्ष छेउ पुगिरहन्छ । उनीहरुका काँचा निर्णयले बारम्बार यस्तो टुंगोमा पु¥याउँछ–‘संघीयता धोका हो, नेता पत्याउने मानिस बोका हो ।’ एक दशकयता प्रचण्डले ल्याएको जादूगरी र उल्काका गफमा विवेकको आँखा बन्द गरेर लाचारीको ल्याप्चे लाउनु बाँकी सवै दलका नेताको दैनिकी बन्दै आएको छ ।

कुनै दिन उनले फरक विचारकालाई सम्मान गर्नुपर्छ भन्ने नाममा दलीय संयन्त्रको सदस्यमा पूर्वराजा ज्ञानेन्द्रलाई समावेश गर्ने प्रस्ताव ल्याए भने एक टेकमा ओके हुने पक्का छ । प्रचण्डका राजनीतिक गुरु मोहन वैद्य र होनहार कार्यकर्ता विप्लव चुनाव विरुद्धको दुुन्दुभि बजाएर बसिरहेका छन् । समस्याको निदान खोज्नुभन्दा समाधानमा समस्या खोज्नुु यस्ता पात्रहरुको स्वभावजन्य वर्गीय धर्म हो ।

पेट सारंगी भएकाहरुका लागि एकमुट्ठी माड, आङमा भ्वाङ परेका लागि एक शरीर टालो र तिर्खाएकाहरुका लागि एक गिलास जल नै लोकतन्त्र हो । अरु बाँकी परिभाषा त राजनीतिका नाममा बकबास गर्नेहरुले कन्याउने सुकेलुतो मात्र हो । तिनीहरुलाई के थाहा सत्य मान्छेपिच्छे फरक हुँदैन ।

तर प्रचण्ड–बैद्य–चन्दको मानसिक तारको दूरी कति नजिक छ भन्ने तर्फ कसैको ध्यान जान सकेको छैन् । फोनमा त अप्टिकल फाइवर हुँदै वेभको जमाना आइसक्यो भने छिनभरमा परिवर्तन हुने मानिसको मन कतिबेला कहाँबाट सञ्चालित हुन्छ भन्न सकिदैन् । ६ दशकसम्म प्रजातन्त्रका लागि लडेका गिरिजाप्रसाद लहरे फोनमा अल्झिरहँदा स्याटेलाईट फोनबाट राजनीतिक बिजनेस गर्ने प्रचण्ड कुन हदसम्मको चलखेल गर्न सक्छन् भनेर कांग्रेस, एमाले र मधेशी नेताहरु निर्णय गरेको ६ महिनापछि मात्र बुझ्ने औकातका छन् ।

गफका क्रान्तिकारीहरु प्रयोग हुन र प्रयोग गरिन कतिसम्म आज्ञाकारी हुनसक्छन् भन्ने भेउ मालिकहरुले ती पार्टीमा गरेको रजगजबाटै थाहा हुन्छ । फगत हाम्रो चाहना माओवादी चलाखी देश जनताको हितमा भइदिए हुन्थ्यो भन्ने कामना मात्र हो । राज्यले आतंककारी करार गर्दा त राज्यका संयन्त्रमा विष वृक्ष रोप्न सक्ने माओवादी अहिले सिंढी उक्लने हैन, फड्किनेका लागि स्वर्ग बन्दै आएको छ ।

उसको राजनीतिक रोडम्याप स्वर्ग र नर्कका बीचमा बसेर व्यापार गर्नु हो । शेरबहादुर नेतृत्व सरकारको राजीनामा माग्न पछि नपर्ने माओवादीका मन्त्रीहरु विना विभागीय नामको अपमानजनक फुर्को ओढेरै भएपनि बसिरहेका छन् । नैतिकताहीन र नकचरो राजनीति संस्थागत बन्दै गएको यो भन्दा नाङ्गो उदाहरण अरु के होला र ?

सिंहदरबार गाउँ सारेको हल्ला देशभर फिंजाएर माझी सल्लाहमा दिन कटनी र मानो पचनी गर्दै आएका नेताहरुका लागि अबको रोडम्याप त्यति सजिलो छैन् । हरेक दल अब मादल, पैदल, जोरपाटी, क्षेत्रपाटी, भत्केको पाटीमा परिणत भइसकेका छन् । नेताहरु गुठी प्रमुखमा रुपान्तरण भएका छन् । वडादेखि केन्द्रसम्म दलाली र सुराकी मौलाउँदो छ ।

नेताहरुको सत्कर्मले हैन, राजनीतिको धर्मले देशको अस्मिता यतिसम्म जोगिएको छ । मान्छेको रगत चुस्ने लामखुट्टे पनि त्यति निर्दयी हुँदैन कि कमसे कम उ आउँदा झुँउउउ गरेर सतर्क रहन सचेत गराउँछ । विवेकहीन रेसम किरो मर्दा पनि मान्छेको आङ ढाक्ने कपडा दिएर वर्षौंसम्म आफूलाई अमर गराउँछ । तर तीन करोड जनताको व्यवस्थापन गर्न भनेर राजनीति गर्नेहरु किन गाली गर्न पनि नसुहाउने नालायक बन्दैछन् ?

पेट सारंगी भएकाहरुका लागि एकमुट्ठी माड, आङमा भ्वाङ परेका लागि एक शरीर टालो र तिर्खाएकाहरुका लागि एक गिलास जल नै लोकतन्त्र हो । अरु बाँकी परिभाषा त राजनीतिका नाममा बकबास गर्नेहरुले कन्याउने सुकेलुतो मात्र हो । तिनीहरुलाई के थाहा सत्य मान्छेपिच्छे फरक हुँदैन ।

ती पटमूर्खहरु त अनुहारमा पोतिएको कालो देख्दैनन, तर रातदिन ऐना पुछिरहन्छन् । चारपटक प्रधानमन्त्री भएका शेरबहादुर देउवा साथीभाईसंग भन्छन् रे– ‘मैले तीन नेताबाट एक एक गुण सिकेको छु । किसुनजीबाट रक्सी खान सिकें । गिरिजाबाबुबाट चुरोट खान सिकें । गणेशमानजीबाट अन्टसन्ट बोल्न सिकें ।’ गिरिजाप्रसादलाई हेलिकोप्टरमा उडाएको भरमा सेनाका क्याप्टेन नारायणसिंह पुनः केन्द्रीय राजनीतिमा पुगे ।

गिरिजाप्रसादको कमजोरीमा खेल्न जानेका प्रचण्ड उनकै शब्दमा राजनीतिको ‘भाले’ भए । तर विडम्बना शेरबहादुरले बिँडी तान्न सिकेछन् । त्यसै पनि शेरबहादुरका विषयमा धेरै जोक छन् । त्यसमध्येको एउटा यस्तो छ– शेरबहादुर देउवालाई आधारातमा चुरोट खाने तलतल चलेछ । चुरोट गोजीमै रहेछ ।

झिकेर मुखमा राखेछन् । सलाई खोजेछन्, पाएनछन् । लाईटर खोजे, त्यो पनि भेटेनन् । ओछ्यानका पत्र पत्र पल्टाए, लुगा, ¥याक सवै ठाउँ हेरे, अहँ छैन । अनि दिक्क मानेर अगाडि रहेको मैनबत्ती झ्याप्पै निभाएर सुतेछन् । लाटो तीनपल्ट हाँस्छ रे । पहिलो बुझ्दै नबुझी अरु हाँसेको देखेर, दोस्रो यथार्थ बुझेर तेस्रो अगाडिको अवस्था सम्झिएर ।

नेताको ताल त यस्तो छ भने तिनीहरुले भाग्य बनाइदिएर सुखी हुनुपर्ने जनताको हविगत कुन हालतमा होला ? मान्छेको अनुहारमा रहेको नाक अंग मात्र हैन । यो इज्जतको प्रतिक पनि हो । यसमा ठेस लाग्यो भने जितेका धेरै खेल हारिन्छ । प्रतिष्ठाको नाक हराउँदा कस्तो पीडा हुन्छ भन्ने तथ्य कोरियालीहरुले भोगेका छन् ।

विश्व इतिहासमा सन् १५९७ मा जापानी सेनाद्वारा कोरियाली प्रायद्वीप कब्जा गरेको घटना उल्लेखनीय रुपमा आउँछ । अनि त्यस समय जापानीले गरेका बर्बरताका घटना पनि प्रचलित छन् । यसै प्रसंगमा जापानी सैनिकहरुले एक लाख कोरियाली मारेका थिए । त्यसताका जुन जापानी सैनिकले बढी कोरियाली सैनिक हत्या गर्न सक्यो, उसलाई ठूलो पुरस्कार दिइन्थ्यो ।

तर आफूले गरेको हत्याको प्रमाण स्वरुप मारिएका कोरियालीहरुको नाक बुझाउनु पथ्र्यो । अन्यथा पुरस्कार पाइँदैनथ्यो । ती सैनिक अधिकारीहरुसंग काटिएका नाकको ठूलो भण्डार भइसकेको थियो । जापानको योकोहामा भेटिएको चिहानमा २० हजार कोरियाली सैनिकको नाक गाडिएको थियो ।

राजनीतिमा आपराधिकरण नेपाल मात्र हैन, विश्वमै चासोको विषय हो । अपराधको माखेसाङ्लोबाट गुजिनु नियति बन्दै आएको छ । लागू औषधका तस्कर, हत्या, हिंसा र आपराधिक कृयाकलापमा लागेका मानिसहरु, माफियातन्त्रको नेटवर्कमा काम गर्नेहरु जघन्य अपराधबाट बच्न राजनीतिमा लागेका हुन्छन् ।

यिनीहरुको पहुँच समाजका ठूला ठूला क्षेत्रमा हुने भएकाले पैसाका आडमा आफू अनुकूल देशका नीति, नियम र कानुन बनाउन सक्षम हुने गरेका छन् । त्यसो त कतिपय देशका राजनीतिक दलहरु अवैध संगठनहरुसंग अवैध रकम लिन्छन् । बहुराष्ट्रिय कम्पनीहरुले आफू अनुकूल सरकार नभएमा सरकारकै तख्ता पलट गरिदिएका थुप्रै उदाहरण छन् ।

यस्ता कम्पनीहरुले एशिया, अफ्रिका तथा ल्याटिन अमेरिकी देशहरुमा भ्रष्टाचार बढाइदिएका छन् । अरु त अरु वाटरगेट काण्डले निक्सनलाई खायो । जापानका प्रधानमन्त्री काकुई तानाकाले चुनावका लागि घुस लिएको आरोपमा पदबाट हात धुनु प¥यो । भारतमा झारखण्ड मुक्तिमोर्चाका सांसदहरुलाई खरिद गर्न आर्थिक चलखेल गरेको भनेर भारतीय प्रधानमन्त्री पीभी नरसिंह राव अदालत धाउनु प¥यो ।

वोफोर्स काण्ड, चारा आहारा काण्डमा भारतका मै हुँ भन्ने माइकलालहरु पनि बाँकी रहेनन् । बेनजिर भुट्टो पतिको मर्यादाहीन आचरणका कारण बद्नाम भइन । हालै चीनका एक मन्त्री फाँसीका लागि योग्य ठहरिए । तर यसो भन्दैमा निरासा नै निर्विकल्प होइन् । एउटा सपना भाँचिएसंगै अरु अनन्त सपना जोडिन्छन । जसले मानिसलाई आशामुखी हुन प्रेरित गर्छ ।

एउटा सपना टुक्रिने अनि अरु नजोडिने हो भने मानव सभ्यता उहिलै डाइनोसर भइसक्ने थियो । जर्मनीको एक कलम कम्पनीले हालै यस्तो कलम बनाएको छ, जसले तपाइले लेखेको कुरा गलत भएको खण्डमा जनाउ दिन्छ । यो कलमले कागजमा लेख्दा यसमा रहेको सेन्सरले हातको चालका साथै अक्षरको आकार पहिचान गरेर शब्द सही भए नभएको पत्ता लगाउँछ र भाइब्रेसनको माध्यमबाट सचेत गराउँछ ।

विदेशी सहायता कम गरेरै भएपनि यहाँको सरकारलाई यो कलम दिइयोस् , ता कि उनीहरुको संकल्प झूटको पुलिन्दा हुनबाट जोगियोस् ।
माईकमा फिंज काढेर बोल्न जान्दैमा नेता कहलिदैन् । मान्छे बटुलेर भाषण त चटकेले पनि गर्छ । तपाईं आध्यात्मिक पाना पल्टाउनुस् त एउटा राजनीतिक व्यक्ति चाणक्य उपनिषद्, वेद, व्याकरण, गणित, अर्थशास्त्र, राजनीतिशास्त्र, शास्त्र विद्या, दर्शन, ज्योतिष र रसायनमा विज्ञ थिए ।

नर्विसौं दुराचारीको कुल, मूर्खको रुप, अयोग्यको विद्या र भोग नगरिएको धन नाशवान छन् । प्रकृतिले सुनमा सुगन्ध, उखुमा फल, श्रीखण्डमा फूल किन लगाएनन् ? हेर्नुस त माटोले फूलको बास्ना लिन्छ तर फूलले माटोको बास्ना लिदैन् । कुवाको पानी र ज्ञान उस्तै हो । जो कहिल्यै झिकेर र बाँडेर रित्तिदैन ।

त्यसै पनि मानव जीवन आस्था हो, विश्वास हो । बहस होइन । कसैले भनेका छन– मुखबाट बोली निकाल्नुअघि एकपटक सोच्नुस । लेख्नुअघि दुईपल्ट सोच्नुस । केही काम गर्नुअघि तीनपल्ट सोच्नुस । संसारमा सवैभन्दा मूल्यवान तरल पदार्थ आँसु हो । जसमा १ प्रतिशत पानी ९९ प्रतिशत भाव हुन्छ । त्यसैले आँसु हैन, हाँसोको खेती गरौं । रुँदा एक्लो परिन्छ । हाँसोमा सवैले साथ दिन्छन् । संसारको सवैले बुझ्ने भाषा हाँसो बाहेक अरु के छ र ?

[email protected]