ललितपुर प्रहरीले भेटेन नवराज सिलवाल !
ललितपुर प्रहरीले पूर्व डिआईजी तथा प्रतिनिधिसभा सदस्य नवराज सिलवाललाई फेला पार्न नसकेको भन्दै काठमाडौं प्रहरीलाई जवाफी पत्र पठाएको छ । ललितपुर प्रहरी स्रोतका अनुसार सम्भावित ठाउँमा खोजतलास गर्दा पनि सिलवाललाई पक्राउ गर्न नसकिएको भन्दै जवाफी पत्र काटेको हो ।
गत पुस १८ गते महानगरीय प्रहरी परिसर काठमाडौँले ललितपुर प्रहरीलाई ‘नवराज सिलवाललाई तत्काल पक्राउ गरेर उपस्थित गराइदिन’ भन्दै पत्र काटेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी बेल बहादुर पाण्डेले ‘केही कुरा बुझ्नपर्ने भएकाले’ उल्लेख गर्दै सिलवाललाई अविलम्ब उपस्थित गराउन ललितपुर प्रहरीलाई पत्र काटेका थिए ।
जवाफी पत्रमा ललितपुर जिल्ला गोदावरी नगरपालिका ४ स्थित घर तथा सम्भावित स्थानमा खोज्दा पनि उनलाई पक्राउ गर्न नसकिएको व्यहोरा उल्लेख रहेको बताइएको छ । सर्वोच्च अदालतको आदेशअनुसार सिलवालविरुद्ध काठमाडौं प्रहरीले कीर्ते जाहेरी दर्ता गरेको थियो भने सोहिका लागि उनलाई अविलम्ब उपस्थित गराउन ललितपुर प्रहरीलाई पत्र काटेको थियो ।