श्रीमानलाई बस्न दिनुपर्ने उपप्रमुखको प्रस्तावपछि…….
काठमाडौं । जनप्रतिनिधिका माग पनि कस्ता कस्ता हुन्छन्, जुन मागहरुले समाजलाई नै गिज्याउछ । जनप्रतिनिधिका काम कारवाही, उनीहरुको कनेक्सन एक पछि अर्को जनतालाई निराश बनाइरहेका छन् ।
कोही सुन तस्करी त कोही चेली बेचविखना तथा वेश्यालय संचालक, कोही आफ्नो श्रीमानलाई बैठकमा लिन पाउनु पर्ने भन्दै नगरसभा बस्न नदिने चेतावनी दिन्छन् । चुनावको बेला गाउँगाउँमा सिंहदरवार भनेपछि त्यो हुन सकेको छैन । बरु सिंहदरवारको रोग गाउँमा पुगेको अनुभूति मतदाताहरुले गर्न थालेका छन् ।
यसैबीच बाराको पचरौता नगरपालिकाकी उपमेयर इन्दुकुमारी यादवले नगर कार्यपालिका बैठकमा श्रीमानलाई बस्न दिनुपर्ने प्रस्ताव राखेपछि बैठक बस्न सकेको छैन । श्रीमान विनोद यादवलाई बस्न नदिए नगरसभा नै रोक्ने उनले चेतावनी दिएकी छन् ।
नयाँ पत्रिकाका अनुसार उपमेयर इन्दुकुमारी यादवले श्रीमानलाई सल्लाहकारका रुपमा नगर कार्यपालिकाको बैठकमा सहभागी गराउने प्रस्ताव गरेकी थिइन् । तर कार्यपालिका बैठकमै सहभागी गराउन कानूनतः नमिल्ने भन्दै एक सदस्यले आपत्ति जनाएका थिए । लगत्तै उनले श्रीमानलाई बस्न नदिए नगरसभा बस्न नदिने चेतावनी दिएको समाचारमा उल्लेख छ ।
पचरौता नगरपालिकाको सभा माघ २१ मा बस्दैछ । योजना तथा तर्जुमा छनौटका लागि उपमेयर यादवलाई संयोजक बनाइएको छ । योजना तथा तर्जुमा छनोट समिति बनाउन बसेको बोर्ड बैठकमा उपमेयरले आफूनिकट व्यक्तिलाई सल्लाहकार तथा सहयोगी राख्न पाउनुपर्ने माग राखेपछि विवाद चर्किएको हो ।