भारतीय गाडीको ‘हुट’बाट ठूलो परिमाणको गाँजा बरामद

ठूलो परिमाणको गाँजासहित भरतपुरबाट दुई भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत मोतीहारी जिल्ला गोपीगंजका २४ वर्षीय नरेशकुमार प्रसाद र १९ वर्षीय निकेशकुमार रहेको प्रहरीले जनाएको छ । प्रहरी सहायक निरीक्षक अक्षयकुमार साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले गस्तीका क्रममा मंगलबार भरतपुर महानगरपालिका–९ गोन्द्राङमा गाडीको जाँच गर्दा ८६ किलो ४७० ग्राम गाँजा बरामद गरेको हो ।

चितवनबाट वीरगञ्ज हुँदै भारत जान लागेको जे एच ०१ एन ८६११ नम्बरको बोलेरो गाडीजाँच गर्दा ‘हुट’मुनि ‘फल्स बटम’ बनाई पत्रिका र प्लाष्टिकले बेरी टेपले बाँधेर बण्डल बनाएको अस्थामा गाँजा भेटिएको प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए।

डेढ किलोदेखि सवा तीन किलोसम्म तौल भएको ३३ बण्डल गाँजा फेला पारेको प्रहरीले जनाएको छ। उक्त लागुऔषध र ओसारपसारमा प्रयोग भएको गाडी बरामद गरी अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ।