दश बर्षसंगै लडेका बालकृष्ण जेलपर्दा एकशब्द नबाेलेका डा. बाबुराम सडकमा
नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराई डा. गोविन्द केसीलाई गिरफ्तार गरेको विरोधमा सडकमा निस्केका छन् । मंगलबार विहान माइतिघर मण्डलामा गरिएको प्रर्दशनमा डा. भट्टराई सहभागी भएका छन् ।
डा.केसीलाई अदालतमा उपस्थित गराईएको समयमा डा. भट्टराईले केसीको पक्षमा नारा लगाइरहेका थिए । उनीसँगै रहेका पूर्व पत्रकार तथा विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र पनि सँगै थिए । उनीहरुले डा. केसीको रिहाईको माग गरेका छन् ।
माओवादी नेता बालकृष्ण ढुंगेल गिरफ्तार हुँदा एक शब्द समेत खर्च नगरेको तर डा. केसीलाई अदालतमा लिँदा सडकमै निस्केको भन्दै डा. भट्टराईको विरोध पनि सुरु भएको छ । जनयुद्धको नेतृत्वकर्तामध्येका एक डा. भट्टराईले अहिलेसम्म पनि ढुंगेलको गिरफ्तारीबारे ‘चू’ सम्म गरेका छैनन् ।
ढुंगेलले जेलभित्रैबाट प्रचण्ड र बाबुरामको निर्देशनमा जनयुद्धमा धेरै कारवाही भएको तर अहिले नबोलेको भन्दै आपत्ति जनाइरहेका छन् । जनयुद्धकालिन मुद्दामा नबोल्नेहरुले जनयुद्ध गरेर अपराध गरेको स्वीकार गरेको ढुंगेलले बताउँदै आएका छन् ।